

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार भएको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गरेको छ । यो जितसँगै चितवनले प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ भने जनकपुर र कर्णाली याक्स प्रतियोगिताबाट बाहिरिएका छन् ।
जनकपुरले दिएको ८९ रनको लक्ष्य चितवनले १७.२ ओभरमा ६ विकेट गुमाएर ९२ रन बनाउँदै पूरा गरेको हो ।
६ खेलमा तेस्रो जित निकालेको चितवन ७ अंकसहित अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ । चितवनले लिग चरणको अन्तिम खेल आइतबार कर्णाली याक्ससँग खेल्नेछ ।
शनिबार हुने खेलमा विराटनगर किंग्स लुम्बिनी लायन्ससँग पराजित भए चितवनले अन्तिम खेलअघि नै प्लेअफमा स्थान सुरक्षित गर्नेछ । विराटनगर विजयी भएमा भने चितवनले कर्णालीलाई हराउनुपर्नेछ ।
यस हारसँगै जनकपुर र कर्णालीको प्लेअफ यात्रा समाप्त भएको छ । सातवटै खेल खेलेको जनकपुरले दुई जितबाट ४ अंक मात्र जोडेको छ । एक खेल खेल्न बाँकी रहेको कर्णालीको पनि ४ अंक छ । अन्तिम खेल जिते पनि कर्णाली शीर्ष चारमा पुग्न सक्ने छैन ।
लक्ष्य पछ्याउने क्रममा चितवनको सुरुवात कमजोर रह्यो । ओपनर अर्जुन साउद दोस्रो बलमै खाता नखोली आउट भए । ३७ रन जोड्दा पाँच विकेट गुमाएको चितवनलाई डाविड मालान र कुशल मल्लले सम्हालेका थिए । उनीहरूले छैटौँ विकेटका लागि ३० रनको साझेदारी गरे ।
चितवनका लागि मालानले अविजित ३५ रन बनाए । उनले ३९ बलमा एक छक्का प्रहार गरे । कुशल मल्लले १५, रवि बोपाराले १३ र कमिल मिशाराले १२ रनको योगदान दिए ।
बलिङतर्फ जनकपुरका राहुल यादवले तीन विकेट लिए भने ललित राजवंशीले दुई र विशाल सुशलिङले एक विकेट हात पारे ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८८ रन बनाएको थियो ।
जनकपुरका कप्तान हर्मीत सिंहले सर्वाधिक २४ रन बनाए । उनले २४ बलमा दुई चौका र एक छक्का प्रहार गरे । विशाल सुशलिङले १५ तथा सन्तोष कार्कीले १० रन जोडे । राहुल यादवले अन्तिम बलमा छक्का प्रहार गर्दै अविजित १० रन बनाए ।
जनकपुरका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । तृतराज दास ५, रायन बर्ल ६, आदित्य महता ४, अभिषेक तिवारी ४ र ललित राजवंशी २ रनमा आउट भए । ह्यारी टेक्टर र जिमी निशमले खाता खोल्न सकेनन् ।
चितवनका स्पिनरले जनकपुरको ब्याटिङ ध्वस्त पारे । रन्जित कुमारले ३ ओभरमा एक मेडन राख्दै २ रन खर्चेर तीन विकेट लिए । कप्तान सिकन्दर राजाले ४ ओभरमा दुई मेडन राख्दै १० रन दिएर दुई विकेट हात पारे ।
कमिल मिशाराले दुई विकेट लिए भने कमल सिंह ऐरी र रिजन ढकालले एक–एक विकेट लिए । यसरी चितवनका स्पिनरले मात्रै जनकपुरका सात विकेट झारेका थिए ।