प्लेअफमा पुगिसकेको लुम्बिनी र विराटनगर आज आमनेसामने, विराटनगरका लागि ‘गर या मर’को खेल

प्लेअफमा पुगिसकेको लुम्बिनी र विराटनगर आज आमनेसामने, विराटनगरका लागि ‘गर या मर’को खेल

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत शनिबार एकमात्र खेल हुँदैछ। उक्त खेलमा साविक विजेता लुम्बिनी लायन्सले विराटनगर किङ्सको सामना गर्नेछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल दिउँसो ५ बजे सुरु हुनेछ। जारी संस्करणको यो २६औँ खेल हो।

लिग चरणको आफ्नो सातौँ तथा अन्तिम खेल खेल्न लागेका दुवै टोलीको अवस्था भने फरक छ। लुम्बिनी लायन्स यसअघि नै प्लेअफमा पुगिसकेको छ। प्रतियोगिताको प्लेअफमा स्थान सुरक्षित गर्ने पहिलो टोलीसमेत लुम्बिनी नै हो। अर्कोतर्फ, विराटनगर किङ्सको प्लेअफ यात्रा अझै अनिश्चित छ। शनिबारको खेलमा जित हासिल गरे विराटनगरको प्लेअफ सम्भावना बलियो हुनेछ। तर, लुम्बिनीसँग पराजित भए विराटनगर तेस्रो संस्करणको लिग चरणबाटै बाहिरिनेछ।

लुम्बिनीले खेलेका ६ खेलमध्ये चारमा जित, एकमा हार र एक खेल वर्षाका कारण रद्द भएको छ। नौ अंकसहित लुम्बिनी तालिकाको दोस्रो स्थानमा छ। विराटनगरले भने ६ खेलमध्ये तीनमा जित र तीनमा हार बेहोरेको छ। ६ अंकसहित विराटनगर पाँचौँ स्थानमा छ।

सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सले यसअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेका छन्। अब बाँकी दुई स्थानका लागि काठमाडौं गोर्खाज, चितवन राइनोज र विराटनगर किङ्सबीच प्रतिस्पर्धा छ।

एक खेल खेल्न बाँकी काठमाडौं आठ अंकसहित तेस्रो स्थानमा छ भने चितवन सात अंकसहित चौथो स्थानमा छ। लुम्बिनीविरुद्ध जित हासिल गरे विराटनगरको पनि आठ अंक पुग्नेछ। यस्तो अवस्थामा प्लेअफमा पुग्ने बाँकी दुई टोलीको टुंगो आइतबार हुने लिग चरणका अन्तिम दुई खेलबाट लाग्नेछ। जनकपुर बोल्ट्स, कर्णाली याक्स र पोखरा एभेन्जर्स भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेका छन्। त्यसैले विराटनगरका लागि शनिबारको खेल प्लेअफमा पुग्ने सम्भावना कायम राख्न निर्णायक हुनेछ।

लुम्बिनीको प्रदर्शन

लुम्बिनी लायन्सले आफ्नो पहिलो खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको थियो। लुम्बिनी र चितवन राइनोजबीचको खेल वर्षाका कारण रद्द भएको थियो। तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई आठ विकेटले हराएको लुम्बिनीले चौथो खेलमा पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्समाथि १६ रनको रोमाञ्चक जित हासिल गरेको थियो।

पाँचौँ खेलमा काठमाडौं गोर्खाजसँग ३६ रनले पराजित भएको लुम्बिनीले छैटौँ खेलमा भने कर्णाली याक्सलाई चार विकेटले हराएको थियो।

विराटनगरको पुनरागमन

विराटनगर किङ्सले प्रतियोगिताको सुरुवात हारबाट गरेको थियो। पहिलो खेलमा चितवन राइनोजसँग आठ रनले पराजित भएको विराटनगर दोस्रो खेलमा कर्णाली याक्ससँग चार विकेटले हारेको थियो। त्यसपछि विराटनगरले लगातार राम्रो प्रदर्शन गर्दै पुनरागमन गरेको थियो। तेस्रो खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई ३५ रनले हराएको विराटनगरले चौथो खेलमा पूर्वच्याम्पियन जनकपुर बोल्ट्सलाई दुई रनले पराजित गरेको थियो।

पाँचौँ खेलमा काठमाडौं गोर्खाजसँग नौ विकेटले पराजित भएको विराटनगरले छैटौँ खेलमा पोखरा एभेन्जर्सलाई चार विकेटले हराएको थियो। जारी संस्करणमा विराटनगरको उच्च स्कोर सात विकेट गुमाएर १८६ रन हो। कर्णाली याक्सविरुद्ध उक्त स्कोर बनाए पनि विराटनगर पराजित भएको थियो। लुम्बिनीको उच्च स्कोर भने आठ विकेट गुमाएर १४९ रन हो। लुम्बिनीले उक्त स्कोर जनकपुर बोल्ट्सविरुद्ध बनाएको थियो।

ब्याटिङ र बलिङमा कसको प्रदर्शन कस्तो?

विराटनगर किङ्सका लोकेश बम जारी एनपीएलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन्। उनले ६ खेलमा दुई अर्धशतकको मद्दतले २२७ रन बनाएका छन्। शनिबारको खेलमा क्यारेबियन स्टार आन्द्रे रसेलको अनुपस्थिति विराटनगरका लागि चुनौती बन्न सक्छ।

लुम्बिनी लायन्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान डार्शी सर्ट हुन्। उनले पाँच खेलमा १०३ रन बनाएका छन्। लुम्बिनीका शेर मल्ल सर्वाधिक विकेट लिने बलर हुन्। उनले पाँच खेलमा नौ विकेट लिइसकेका छन्। विराटनगरका एन्जेलो म्याथ्यूजले पनि उत्कृष्ट बलिङ गरेका छन्। उनले ६ खेलका पाँच पालीमा आठ विकेट लिएका छन्।

लुम्बिनी र विराटनगरबीचको विगत

एनपीएलको इतिहासमा लुम्बिनी लायन्स र विराटनगर किङ्सबीच हालसम्म तीन पटक प्रतिस्पर्धा भएको छ। त्यसमध्ये दुई खेलमा लुम्बिनी र एक खेलमा विराटनगर विजयी भएका छन्। सन् २०२४ मा आयोजित पहिलो संस्करणको लिग चरणमा विराटनगरले लुम्बिनीलाई दुई विकेटले हराएको थियो।

सन् २०२५ मा आयोजित दोस्रो संस्करणको लिग चरणमा भने लुम्बिनीले अघिल्लो हारको बदला लिँदै विराटनगरलाई पाँच विकेटले पराजित गरेको थियो। सोही संस्करणको दोस्रो क्वालिफायरमा पनि यी दुई टोली आमनेसामने भएका थिए। उक्त खेलमा लुम्बिनीले विराटनगरलाई ४० रनले हराएको थियो।

शनिबारको खेलमा लुम्बिनी अर्को जित हासिल गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लने लक्ष्यमा हुनेछ। विराटनगर भने प्लेअफ सम्भावना बलियो बनाउने योजनासहित मैदान उत्रनेछ।

दुवै टोलीका खेलाडी

लुम्बिनी लायन्स : रोहितकुमार पौडेल, डार्शी सर्ट, आसिफ शेख, निरोसन डिकवेल्ला, दिलिप नाथ, समिम होसैन, रुवेन ट्रम्पलम्यान, सन्दीप जोरा, शेर मल्ल, किशोर महतो, तिलक भण्डारीलगायत।

विराटनगर किङ्स : सन्दीप लामिछाने, सेहन जयसूर्या, लोकेश बम, इमरान शेख, शुभम रञ्जने, एन्जेलो म्याथ्यूज, बसिर अहमद, नारायण जोशी, अपराजित पौडेल, रुपेश सिंह, प्रतिस जीसी, ईसुरु उडाना, चरिथ असलंका लगायत।