

काठमाडौं । बंगालको खाडीमा अर्को चक्रवाती आँधी विकसित हुन सक्ने सम्भावना देखिएको छ। भारतको मौसम विज्ञान विभाग (आईएमडी) ले दक्षिणपूर्वी बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र क्रमशः शक्तिशाली बन्दै सोमबार साँझसम्म चक्रवाती आँधीमा परिणत हुन सक्ने जनाएको छ।
विभागका अनुसार शुक्रबार बिहान साढे ५ बजे दक्षिणपूर्वी बंगालको खाडीमा न्यून चापीय क्षेत्र बनेको थियो। शुक्रबार बिहान साढे ८ बजेसम्म पनि उक्त मौसमी प्रणाली सोही क्षेत्रमा सक्रिय रहेको थियो। यो प्रणाली उत्तरपश्चिम दिशातर्फ अघि बढ्ने अनुमान गरिएको छ। शनिबारसम्म गहिरो न्यून चापीय क्षेत्र (डीप डिप्रेसन) मा परिणत हुन सक्ने र त्यसपछि थप विकसित हुँदै आइतबार बिहानसम्म डिप्रेसनको रूप लिन सक्ने विभागको पूर्वानुमान छ।
यसरी क्रमशः शक्तिशाली बन्दै गएको प्रणाली सोमबार साँझसम्म मध्य बंगालको खाडीमा चक्रवाती आँधीमा परिणत हुन सक्ने विभागले जनाएको छ। मध्य अण्डमान सागर तथा आसपासको अण्डमान–निकोबार द्वीपसमूहमाथि विकसित वायुमण्डलीय प्रणालीका कारण बंगालको खाडीमा यस्तो मौसमी गतिविधि देखिएको मौसम विज्ञान विभागले उल्लेख गरेको छ।