भाइटीकामा सशस्त्र प्रहरीका तीन निःशुल्क बस सञ्चालन, बिहान ८ देखि बेलुकी ५ बजेसम्म सेवा

भाइटीकामा सशस्त्र प्रहरीका तीन निःशुल्क बस सञ्चालन, बिहान ८ देखि बेलुकी ५ बजेसम्म सेवा

काठमाडौँ । भाइटीकाका दिन सार्वजनिक यातायातका साधन न्यून रूपमा सञ्चालन हुने भएपछि सर्वसाधारणको सहज आवतजावतका लागि सशस्त्र प्रहरी बल, नेपालले आज काठमाडौं उपत्यका र भक्तपुरमा तीनवटा बस निःशुल्क सञ्चालन गरेको छ।

सार्वजनिक यातायातको अभावमा नागरिकले आवतजावतमा भोग्नुपर्ने असुविधा कम गर्ने उद्देश्यले निःशुल्क बस सेवा सञ्चालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ। उक्त सेवा आज बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुनेछ।

काठमाडौं उपत्यकामा सञ्चालन हुने बसमध्ये सशस्त्र प्रहरी बलको प्रधान कार्यालयबाट छुट्ने एउटा बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खु हुँदै विभिन्न स्थानका यात्रुलाई सेवा दिनेछ।

त्यस्तै, प्रधान कार्यालयबाटै छुट्ने अर्को बसले सीतापाइला, कलंकी, बल्खु, कोटेश्वर र नयाँ बसपार्क हुँदै यात्रुलाई निःशुल्क सेवा प्रदान गर्नेछ।

यसैगरी, प्रधान कार्यालय स्वयम्भूबाट भक्तपुरसम्म सञ्चालन हुने तेस्रो बसले स्वयम्भू, कलंकी, बानेश्वर, कोटेश्वर, पेप्सिकोला, सानोठिमी, पुरानोठिमी, सल्लाघारी र लोकन्थली हुँदै पुनः बानेश्वर, कलंकी र स्वयम्भूसम्म सेवा दिनेछ।

दसैँलगायत चाडपर्वका समयमा सार्वजनिक यातायातको अभावमा नागरिकले भोग्नुपर्ने समस्यालाई न्यूनीकरण गरी सहज यात्राको सुविधा उपलब्ध गराउन सशस्त्र प्रहरी बलले निरन्तर निःशुल्क बस सेवा सञ्चालन गर्दै आएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।