आधुनिक मनोरञ्जनको प्रभावले सुदूरपश्चिमको मौलिक देउसीभैलो परम्परा ओझेलमा

आधुनिक मनोरञ्जनको प्रभावले सुदूरपश्चिमको मौलिक देउसीभैलो परम्परा ओझेलमा

डडेल्धुरा । तिहार भन्नेबित्तिकै घरघरमा माटाका दियो बाल्ने, समूहमा देउसीभैलो खेल्ने र मौलिक लोकभाकामा गीत गुञ्जिने दृश्य सम्झनामा आउँछ। तर पछिल्लो समय तिहार मनाउने शैलीमा आएको परिवर्तनसँगै सुदूरपश्चिमको मौलिक देउसीभैलो परम्परा विस्तारै ओझेलमा पर्दै गएको छ।

आधुनिक झिलिमिली बत्ती, डिजे र नयाँ मनोरञ्जनका माध्यमप्रति बढ्दो आकर्षणसँगै युवाको पलायन र बसाइँसराइले परम्परागत देउसीभैलोको रौनक घट्दै गएको स्थानीयको अनुभव छ।

डडेल्धुराको आलिताल गाउँपालिका–३ की ७० वर्षीया सरस्वती भट्टलाई पुरानो तिहारको सम्झना अझै ताजै छ। उनका अनुसार पहिले तिहारमा घरको मूलढोका, आँगन, तुलसीको मठ र गोठसम्म माटाका दियो बालेर उज्यालो बनाउने चलन थियो। साँझ परेपछि गाउँभरि दियोको उज्यालो र देउसीभैलोका मौलिक भाकाले छुट्टै उत्साह थप्थे। अहिले माटाका दियोको ठाउँ झिलिमिली बत्तीले लिँदै गएको र परम्परागत भाका पनि कम सुनिन थालेको उनी बताउँछिन्।

नवदुर्गा गाउँपालिका–४ की शान्ति कुँवरलाई पनि पहिलेको देउसीभैलोको सामूहिक रमाइलो सम्झना छ। उनका अनुसार साथीभाइ मिलेर समूह बनाउने, गाउँका घरघरमा पुगेर गीत गाउने र घरपरिवारले आफ्नो गच्छेअनुसार धान, चामल, मकै तथा दक्षिणा दिने चलन थियो। त्यसरी सङ्कलन भएको अन्न र पैसाले साथीभाइ मिलेर रमाइलो गर्ने गरिन्थ्यो। अहिले भने त्यस्तो परम्परा र सामूहिकता कम हुँदै गएको उनको भनाइ छ।

स्थानीय लोक तथा देउडा गायक सुधिर जैरुका अनुसार पहिले देउसीभैलोमा स्थानीय लोकभाका, परम्परागत बाजागाजा र भट्याउने शैलीलाई विशेष महत्त्व दिइन्थ्यो। गीतमार्फत घरपरिवारको सुख, शान्ति, समृद्धि र उन्नतिको कामना गरिन्थ्यो। तर अहिले डिजेमा आधुनिक गीत बजाएर नाच्ने प्रवृत्ति बढ्दा मौलिक भैलोको पहिचान कमजोर बन्दै गएको उनी बताउँछन्।

देउसीभैलो मनोरञ्जन र दक्षिणा सङ्कलन गर्ने माध्यम मात्र होइन, सामाजिक सद्भाव, आपसी सम्बन्ध र सांस्कृतिक पहिचानसँग जोडिएको परम्परा पनि हो। यसले गाउँघरमा विभिन्न उमेर समूहका मानिसलाई एकै ठाउँमा जोड्दै आएको छ।

संस्कृतिका जानकार कैलासकुमार पाण्डेका अनुसार समयसँगै चाडपर्व मनाउने शैली परिवर्तन हुनु स्वाभाविक भए पनि मौलिक परम्परा बिर्सन नहुने बताउँछन्। नयाँ पुस्तालाई पुराना भाका, बाजागाजा र देउसीभैलोको सांस्कृतिक महत्त्वबारे जानकारी गराउँदै यसको अभ्यास र संरक्षणमा जोड दिनुपर्ने उनको भनाइ छ।

आधुनिक मनोरञ्जनका माध्यमलाई आत्मसात् गर्दै पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका मौलिक संस्कृति र परम्परालाई पनि निरन्तरता दिन सके मात्र तिहारको सांस्कृतिक पहिचान जोगाउन सकिने देखिन्छ।