भाइटीकाको दिन काठमाडौं उपत्यकामा असिनासहित वर्षा, सर्वसाधारणको आवतजावत प्रभावित

भाइटीकाको दिन काठमाडौं उपत्यकामा असिनासहित वर्षा, सर्वसाधारणको आवतजावत प्रभावित

काठमाडौँ । तिहारको मुख्य दिन भाइटीकाका अवसरमा बुधबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा मेघगर्जन र असिनासहित वर्षा भएको छ। दिउँसोपछि मौसममा अचानक परिवर्तन भएसँगै उपत्यकाका विभिन्न क्षेत्रमा वर्षा सुरु भएको हो।

उपत्यकाका बुढानीलकण्ठ, कपन, काँडाघारी, गौशाला र चाबहिललगायतका स्थानमा असिनासहित वर्षा भएको छ। वर्षाका कारण भाइटीकाका दिन आवतजावत गरिरहेका सर्वसाधारण तथा दिदीबहिनी र दाजुभाइ प्रभावित भएका छन्। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यही मौसमी प्रणालीका कारण काठमाडौंसहित पहाडी भूभागमा मौसम बदली भई वर्षा भएको हो।

महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बदली रहनेछ। ती प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। त्यस्तै, अन्य पहाडी भूभाग तथा मधेस प्रदेशमा आंशिक बदली रहने र बाँकी तराई भूभागमा भने मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ।