एनपीएलमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा लोकेश बम शीर्ष स्थानमा, युवराज शर्मा दशौँ नम्बरमा

एनपीएलमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा लोकेश बम शीर्ष स्थानमा, युवराज शर्मा दशौँ नम्बरमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा लिग चरणका खेल अन्तिम चरणमा पुगेका छन्। लिग चरणका कुल २८ खेलमध्ये हालसम्म २१ खेल सम्पन्न भएका छन्। अब चार दिनमा बाँकी सात खेल हुनेछन्।

हालसम्मको प्रदर्शनका आधारमा विराटनगर किंग्सका लोकेश बम सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा छन्। उनले पाँच खेलमा दुई अर्धशतकसहित कुल १९४ रन बनाएका छन्। उनको उच्चतम स्कोर ८७ रन हो। १५३.९५ को स्ट्राइक रेटमा ब्याटिङ गरेका बमले अहिलेसम्म १२ चौका र १६ छक्का प्रहार गरेका छन्।

सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा चितवन राइनोजका रवि बोपारा दोस्रो स्थानमा छन्। उनले चार खेलमा एक अर्धशतकसहित १७१ रन बनाएका छन्। १३२.५५ को स्ट्राइक रेट रहेका बोपाराले नौ चौका र आठ छक्का प्रहार गरेका छन्।

विराटनगर किंग्सकै एन्ड्रे रसेल १४४ रनसहित तेस्रो स्थानमा छन्। उनले पाँच खेलमा एक अर्धशतक बनाएका छन्। १८९.४७ को स्ट्राइक रेटमा खेलेका रसेलको उच्चतम स्कोर ५२ रन रहेको छ। उनले आठ चौका र १४ छक्का प्रहार गरेका छन्।

कर्णाली याक्सका अरिफुल इस्लाम चौथो स्थानमा छन्। उनले पाँच खेलमा १८३.३३ को स्ट्राइक रेटमा १४३ रन बनाएका छन्। उनको उच्चतम स्कोर ४४ रन हो। उनले १० चौका र १२ छक्का प्रहार गरेका छन्।

जनकपुर बोल्ट्सका सैफ हसन पाँचौँ स्थानमा छन्। उनले चार खेलमा एक अर्धशतकसहित १४० रन बनाएका छन्। ११५.७० को स्ट्राइक रेट रहेका हसनको उच्चतम स्कोर ७१ रन हो। उनले सात चौका र आठ छक्का प्रहार गरेका छन्।

कर्णाली याक्सका पवन सर्राफ पनि १४० रनसहित छैटौँ स्थानमा छन्। उनले पाँच खेलमा १०५.२६ को स्ट्राइक रेटमा रन बनाएका छन्। सर्राफले अहिलेसम्म दुई चौका र १० छक्का प्रहार गरेका छन्।

पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेल १३६ रनसहित सातौँ स्थानमा छन्। उनले पाँच खेलमा एक अर्धशतक बनाएका छन्। १३२.०३ को स्ट्राइक रेटमा ब्याटिङ गरेका भुर्तेलले नौ चौका र सात छक्का प्रहार गरेका छन्।

काठमाडौं गोर्खाजका डेविड वार्नर १२७ रनसहित आठौँ स्थानमा छन्। उनले चार खेलमा एक अर्धशतक बनाएका छन्। १४१.११ को स्ट्राइक रेट रहेका वार्नरले १४ चौका र चार छक्का प्रहार गरेका छन्।

सुदूरपश्चिम रोयल्सका ब्रेन्डन म्याकमुलेन १२४ रनसहित नवौँ स्थानमा छन्। उनले पाँच खेलमा १६७.५६ को स्ट्राइक रेटमा रन बनाएका छन्। उनको ब्याटबाट अहिलेसम्म १२ चौका र छक्का प्रहार भएका छन्।

यस संस्करणमा शतक प्रहार गर्ने एकमात्र खेलाडी पोखरा एभेन्जर्सका युवराज शर्मा १२१ रनसहित दसौँ स्थानमा छन्। उनले दुई खेलमा एक शतक बनाएका छन्। १९५.१६ को स्ट्राइक रेट रहेका शर्माको उच्चतम स्कोर १०२ रन हो। उनले १४ चौका र छक्का प्रहार गरेका छन्।

यसैगरी, एनपीएलमा सयभन्दा बढी रन बनाउने अन्य छ खेलाडी छन्। काठमाडौंका रशिद खानले १२०, चितवनका डेविड मलानले ११४, जनकपुरका तृतराज दासले ११२ र जनकपुरकै मोइन अलीले १०८ रन बनाएका छन्। कर्णालीका डेविड मिलर र विराटनगरका इम्रान शेखले समान सय रन बनाएका छन्।

भाइटीकाका कारण बुधबार एनपीएलमा कुनै खेल राखिएको थिएन। अब बिहीबार विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ। खेल मध्याह्न साढे १२ बजे सुरु हुनेछ।