

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा दिने बताएका छन् । यमपञ्चकको अन्तिम दिन अर्थात् भाइटीकाको अवसरमा प्रधानमन्त्री शाहले आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् ।
उनले जारी गरेको शुभकामना सन्देशमा पौराणिक मान्यताअनुसार कार्तिक शुक्ल द्वितीयाका दिन बहिनी यमुनाको निमन्त्रणामा यमराज उनको निवासमा पुगेको उल्लेख छ । त्यस अवसरमा यमुनाले दाजुलाई विधिपूर्वक टीका र पूजा गरी आदरसत्कार गरेको सन्देशमा भनिएको छ ।
‘बहिनीको प्रेम, निष्ठा र आतिथ्यबाट प्रसन्न यमराजले यस दिन बहिनीबाट टीका र पूजा ग्रहण गर्ने दाजुभाइलाई मृत्युको भयबाट मुक्ति मिल्नुका साथै दीर्घायु, सुस्वास्थ्य र सौभाग्य प्राप्त हुने वरदान दिनुभएको विश्वास छ,’ शुभकामना सन्देशमा भनिएको छ ।
सोही विश्वासका आधारमा भाइटीकाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै पूजा गर्ने चलन रहेको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन् ।
यस दिन दाजुभाइलाई दुबो, मखमली तथा सयपत्रीको माला लगाइदिने, ओखर फुटाउने, तेलको रेखाले छेक्ने, सप्तरङ्गी टीका लगाउने र विभिन्न मिष्ठान्न परिकार खुवाउने परम्परा रहेको उनको सन्देशमा उल्लेख छ । दाजुभाइले पनि आफ्ना दिदीबहिनीलाई गच्छेअनुसार दक्षिणा दिई आशीर्वाद ग्रहण गर्ने चलन रहेको उनले बताएका छन् ।