

काठमाडौं । भाइटीकाको अवसरमा आज बिहानैदेखि काठमाडौंस्थित रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर भक्तजनका लागि खुला गरिने भएको छ। वर्षमा एकपटक भाइटीकाका दिन मात्रै खुल्ने यस मन्दिरमा दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूले पूजा, दर्शन गरी टीका लगाउने परम्परा छ।
भाइटीकाका दिन भक्तजनको आगमन रहेसम्म मन्दिर खुला राख्ने गरिएको छ। विसं २०३५ पछि रानीपोखरीभित्र रहेको बालगोपालेश्वर मन्दिर नियमित रूपमा भाइटीकाका दिन खुल्न थालेको हो।
यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व मनाइँदै छ। यस अवसरमा दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्यको कामना गर्दै श्रद्धा, आस्था र निष्ठाका साथ परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिने चलन छ।