

काठमाडौं । जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा स्थान लगभग पक्का गरेको छ। मंगलबार भएको खेलमा जनकपुर पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको छ।
सुदूरपश्चिमले दिएको १२१ रनको लक्ष्य पछ्याएको जनकपुर १९.५ ओभरमा ९३ रनमै अलआउट भयो। जनकपुरका लागि त्रितराज दासले सर्वाधिक २१ रन बनाए। जेम्स निसमले १३ तथा आदित्य महताले १० रन जोडे। रायन बर्लले आठ, ललित राजवंशीले पाँच र कप्तान हरमित सिंहले चार रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
सुदूरपश्चिमका स्कट कुग्लेनले तीन विकेट लिए। हेमन्त धामी, थारिन्दु रत्नायके, दीपेन्द्रसिंह ऐरी र ईशान पाण्डेले समान एक–एक विकेट हात पारे। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १२० रन बनाएको थियो।
सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले सर्वाधिक ३३ रन बनाए। थारिन्दु रत्नायकेले अविजित २७ रन जोड्दा आरिफ शेखले ११ तथा सैफ जैब र विनोद भण्डारीले समान १० रन बनाए। जनकपुरका कप्तान हरमित सिंहले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए। तर, ब्याटिङमा कमजोर प्रदर्शन गर्दा जनकपुरले लक्ष्य भेट्टाउन सकेन।
जितसँगै ६ खेल खेलेको सुदूरपश्चिमले चार जित र दुई हारसहित आठ अंक जोडेको छ। टोली अंक तालिकाको तेस्रो स्थानमा छ। पाँचौँ स्थानमा रहेको जनकपुरले भने ६ खेलबाट चार अंक मात्रै जोड्न सकेको छ। यस पराजयसँगै जनकपुरको प्लेअफ सम्भावना समाप्त भएको छ।