नेपाल संवत् ११४७ शुरु, नेवार समुदायले गरे म्हः पूजा

नेपाल संवत् ११४७ शुरु, नेवार समुदायले गरे म्हः पूजा

काठमाडौं । नेवार समुदायको मौलिक नयाँ वर्षका रूपमा रहेको नेपाल संवत् ११४७ आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। नयाँ वर्षको स्वागतसँगै नेवार समुदायले आज म्हः अर्थात् आत्म पूजा पनि गर्दै छन्। नेपाल संवत्को नयाँ वर्ष र म्हः पूजाले नेवार समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानलाई उजागर गर्छन्।

नेपाल संवत् राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गराएर सुरु गराएको इतिहास छ। लिच्छविकालीन राजा राघवदेवको शासनकालमा सुरु भएको यो संवत् नेपालको मौलिक संवत्का रूपमा परिचित छ। लिच्छविकालअघि नेपालमा शक संवत् प्रचलनमा रहेको इतिहासमा उल्लेख छ।

नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको थियो। नेपालको नामबाट नामकरण गरिएको यस संवत्लाई पुनः राष्ट्रिय मान्यता दिलाउन विसं २००७ मा प्रजातन्त्र स्थापना भएदेखि नै अभियान सञ्चालन हुँदै आएको थियो।

गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उदाहरण प्रस्तुत गर्नुका साथै मौलिक संवत् सञ्चालनमा योगदान पुर्‍याएको भन्दै तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले विसं २०५६ मा शङ्खधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए। त्यसैगरी, विसं २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए।

नेपाल संवत्को नयाँ वर्ष काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे र दोलखाको भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेष उत्साहका साथ मनाउने गरिन्छ। काठमाडौँमा कार्तिक कृष्ण औँसीका दिन पुरानो बहीखाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बहीखाता सुरु गर्ने परम्परा पनि छ।

म्हः पूजाको धार्मिक तथा सांस्कृतिक महत्त्व

नेपाल संवत्को नयाँ वर्षका अवसरमा नेवार समुदायले म्हः अर्थात् आत्म पूजा गर्ने परम्परा छ। मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले आफ्नै आत्माको पूजा गर्ने चलन रहेको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम बताउँछन्।आत्मालाई सन्तुष्ट र प्रसन्न राख्न सके देवीदेवता पनि प्रसन्न भई आशीर्वाद दिने र मानव जीवन सार्थक हुने धार्मिक विश्वास रहेको उनले बताए।

यस वर्ष प्रतिपदा तिथि सोमबार र मंगलबार दुई दिन परेकाले नेपाल संवत्को नयाँ वर्ष र म्हः पूजा मनाउने दिनमा स्थानअनुसार भिन्नता देखिएको छ। केही स्थानमा सोमबार नै नेपाल संवत्को नयाँ वर्ष मनाइएको छ भने नेवार समुदायका केही समूहले आज म्हः पूजा गर्दै छन्। नेपाल संवत् र म्हः पूजाले नयाँ वर्षको सुरुवातसँगै आत्मसम्मान, सांस्कृतिक निरन्तरता र सामुदायिक एकताको सन्देश दिने परम्परा बोकेका छन्।