

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले नेपाल संवत् आन्दोलन नेपालको लोकतान्त्रिक तथा सांस्कृतिक आन्दोलनको महत्त्वपूर्ण अध्याय भएको बताएका छन्। उनले नेपाल संवत् कुनै एक समुदायको मात्र नभई सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा भएको पनि उल्लेख गरेका छन्।
नेपाल संवत् ११४७ नयाँ वर्षको अवसरमा न्हूँद राष्ट्रिय समारोह समितिले मंगलबार वसन्तपुर डबलीमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै सभामुख अर्यालले पञ्चायती शासनकालमा भाषा, संस्कृति, लिपि र पहिचानको अधिकारका लागि नेपाल संवत् अभियानले महत्त्वपूर्ण आवाज उठाएको स्मरण गरे।
उनले राष्ट्रिय विभूति शङ्खधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नु, नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता प्रदान गर्नु र सरकारी कागजातमा समेत यसको उल्लेख गर्ने निर्णय आन्दोलनका महत्त्वपूर्ण उपलब्धि भएको बताए।
‘अब यी उपलब्धिलाई व्यवहारमा कार्यान्वयन गर्दै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक निकायमा नेपाल संवत्को प्रयोग विस्तार गर्न आवश्यक छ,’ उनले भने।
नेपालको संविधानले स्वीकार गरेको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचान राष्ट्रिय शक्ति भएको उल्लेख गर्दै उनले नेपाल भाषा, रञ्जना लिपि र मौलिक सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा राज्य र समाज दुवैको सक्रिय भूमिका आवश्यक रहेको बताए।
नेपाल संवत् अभियानलाई नयाँ पुस्तासँग जोड्दै शिक्षा, अनुसन्धान, प्रविधि र दैनिक जीवनमा यसको प्रयोग विस्तार गर्न सके मात्रै दीर्घकालीन संरक्षण सम्भव हुने उनको भनाइ थियो।
‘नेपाल संवत् केवल समय गणना गर्ने पात्रो मात्र होइन, यो नेपालको ऐतिहासिक सभ्यता, सांस्कृतिक गौरव र राष्ट्रिय पहिचानको महत्त्वपूर्ण सम्पदा हो,’ सभामुख अर्यालले भने।
नेपाल संवत्को सुरुआत राष्ट्रिय विभूति शङ्खधर साख्वाको लोककल्याणकारी योगदानसँग जोडिएको उल्लेख गर्दै सभामुख अर्यालले ऋणमा डुबेका जनतालाई ऋणमुक्त गराएर उनले स्थापना गरेको संवत्ले सामाजिक न्याय, परोपकार र सामूहिक हितको सन्देश दिएको बताए। ‘उहाँको योगदान कुनै एक समुदायमा सीमित नभई सम्पूर्ण मानव समाजका लागि अनुकरणीय छ,’ उनले भने।