‘तिलस्मी’को पोस्टर सार्वजनिक, पुस २४ देखि प्रदर्शनमा आउने

‘तिलस्मी’को पोस्टर सार्वजनिक, पुस २४ देखि प्रदर्शनमा आउने

काठमाडौं । तारा अधिकारीको निर्देशनमा निर्माण भएको नेपाली चलचित्र ‘तिलस्मी’को पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा चलचित्रका तीन प्रमुख पात्रलाई रोचक र आकर्षक शैलीमा प्रस्तुत गरिएको छ।

सुनौलो तारा मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रको पोस्टरमा कलाकार जाहन्वी बस्नेत, सुनिशा बजगाईं र महेश खड्का देखिएका छन्। तीन पात्रलाई एकअर्कासँग जोडिएको फरक शैलीमा प्रस्तुत गरिएको पोस्टरले चलचित्रको कथावस्तुबारे दर्शकमाझ कौतूहल बढाउने अपेक्षा गरिएको छ।

आगामी पुस २४ गतेदेखि प्रदर्शनमा आउने चलचित्रमा जाहन्वी बस्नेत, सुनिशा बजगाईं, महेश खड्का, आरजे सिंह, रश्मि भट्ट, भविष्य कार्की र सुभाष भण्डारीलगायत कलाकारको अभिनय रहेको छ।

चलचित्रको कथा, निर्माण तथा निर्देशन तारा अधिकारीले गरेकी हुन्। गीतकारसमेत रहेकी अधिकारीको यो पहिलो चलचित्र निर्देशन हो। चलचित्रको पटकथा तथा संवाद बाबुराम निरौलाले लेखेका छन् भने संगीत सुमन केसी र किरण कँडेलले दिएका छन्।

चलचित्रको छायांकन विनोद बलले गरेका छन्। ध्वनि डिजाइन अमित श्रेष्ठको रहेको छ भने प्रमुख सहायक निर्देशकमा इलियास शेख र सहायक निर्देशकमा अनुजा अधिकारी छन्। प्रोडक्सन म्यानेजरको जिम्मेवारी मनिष डीके र सुवास राईले सम्हालेका छन्।

त्यस्तै, चलचित्रको ब्याकग्राउन्ड स्कोर पार्किष गिरी र अमित श्रेष्ठले तयार पारेका छन् भने सम्पादन नहकुल खड्काले गरेका छन्। पारिवारिक कथावस्तुमा आधारित चलचित्रमा राजीव समरको कोरियोग्राफी र राजेन्द्र मोक्क्तानको कलर संयोजन रहेको छ। चलचित्रको प्रचार सामग्री टौवा क्रियसनले डिजाइन गरेको हो। ‘तिलस्मी’को वितरण कृति इन्टरटेनमेन्ट र नेसनल सिने ग्रुपले गर्ने भएका छन्।