

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत मंगलबार एकमात्र खेल हुँदैछ। कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स आमनेसामने हुँदैछन्। दिवा–रात्रि खेल अपराह्न ५ बजे सुरु हुनेछ।
एनपीएलको पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स र दुवै संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सबीचको यो प्रतिस्पर्धा दुवै टोलीका लागि महत्त्वपूर्ण हुनेछ। जारी सिजनमा दुवै टोलीले आफ्नो छैटौँ खेल खेल्न लागेका हुन्। यो संस्करणको २१औँ खेलसमेत हो।
अंक तालिकामा जनकपुरको तुलनामा सुदूरपश्चिम केही बलियो अवस्थामा छ। पाँच खेलमध्ये तीनमा जित र दुईमा हार बेहोरेको सुदूरपश्चिम ६ अंकसहित तेस्रो स्थानमा छ। जनकपुरले भने पाँचमध्ये दुई खेल जित्दै तीन खेलमा हार बेहोरेको छ। चार अंकसहित जनकपुर तालिकाको पाँचौँ स्थानमा छ।
त्यसैले मंगलबारको खेलमा पराजित भए जनकपुरको प्लेअफ यात्रा थप कठिन बन्ने देखिन्छ। सुदूरपश्चिमका लागि पनि अंक तालिकामा आफ्नो स्थिति मजबुत बनाउने अवसर हुनेछ।
सुदूरपश्चिम रोयल्सले तेस्रो संस्करणको सुरुआत हारबाट गरेको थियो। प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्ससँग सात विकेटले पराजित भएको सुदूरपश्चिमले दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको थियो। तेस्रो खेलमा विराटनगर किङ्ससँग ३५ रनले पराजित भए पनि चौथो खेलमा चितवन राइनोजलाई पाँच विकेटले हराउँदै टोलीले पुनरागमन गरेको थियो। पाँचौँ खेलमा साविक विजेता कर्णाली याक्सलाई ३९ रनले पराजित गरेको सुदूरपश्चिम जितको लयलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ।
अघिल्ला दुई संस्करणको लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको सुदूरपश्चिमले यसपटक भने अपेक्षाअनुसारको प्रदर्शन गर्न सकेको छैन। उता, जनकपुर बोल्ट्सले पनि हारबाटै प्रतियोगिताको सुरुआत गरेको थियो। पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको जनकपुरले दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई आठ विकेटले र तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई नौ रनले हराएको थियो।
चौथो खेलमा छिमेकी प्रतिद्वन्द्वी विराटनगर किङ्ससँग रोमाञ्चक प्रतिस्पर्धामा दुई रनले पराजित भएको जनकपुर पाँचौँ खेलमा साविक विजेता लुम्बिनी लायन्ससँग १६ रनले हारेको थियो। लगातार दुई हारपछि जनकपुर जितको खोजीमा मैदान उत्रनेछ।
जारी प्रतियोगितामा सुदूरपश्चिमको उच्च स्कोर ६ विकेट गुमाएर बनाएको १७६ रन हो। उसले कर्णाली याक्सविरुद्ध उक्त स्कोर बनाएको थियो। जनकपुरको उच्च स्कोर भने विराटनगर किङ्सविरुद्ध सात विकेट गुमाएर बनाएको १७२ रन हो।
जनकपुरका लागि सैफ हसन सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन्। उनले चार खेलमा एक अर्धशतकसहित १४० रन बनाएका छन्। सुदूरपश्चिमका ईशान पाण्डेले पाँच खेलका चार पालीमा ९२ रन बनाएका छन्। बलिङतर्फ जनकपुरका राहुल यादव सर्वाधिक सफल देखिएका छन्। उनले पाँच खेलमा आठ विकेट लिइसकेका छन्। सुदूरपश्चिमका अनिल खरेलले पाँच खेलका चार पालीमा सात विकेट लिएका छन्।
एनपीएलको इतिहासमा सुदूरपश्चिम र जनकपुरबीच हालसम्म चार खेल भएका छन्। तीमध्ये तीन खेलमा सुदूरपश्चिम र एक खेलमा जनकपुर विजयी भएका छन्।
सन् २०२४ मा भएको पहिलो संस्करणको लिग चरणमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो। त्यसै संस्करणको पहिलो क्वालिफायरमा पनि सुदूरपश्चिमले जनकपुरलाई आठ विकेटले हराएको थियो। तर, फाइनलमा भने जनकपुरले सुदूरपश्चिमलाई पाँच विकेटले स्तब्ध पार्दै उपाधि जितेको थियो।
सन् २०२५ मा भएको दोस्रो संस्करणको लिग चरणमा पनि सुदूरपश्चिमले जनकपुरलाई ६ विकेटले पराजित गरेको थियो। यस संस्करणमा सुदूरपश्चिमको टोलीमा दीपेन्द्रसिंह ऐरी, सेफ जेब, विनोद भण्डारी, ब्रान्डन म्याकमुलेन, ईशान पाण्डे, आरिफ शेख, स्कट कुगेलेइन, अनिल खरेल, हेमन्त धामी, अविनाश बोहरा र थारिन्दु रत्नायकेलगायतका खेलाडी छन्।
त्यस्तै, जनकपुरको टोलीमा हरमित सिंह, मोइन अली, तृतराज दास, सैफ हसन, अनिल साह, विशाल सुस्लिङ, जेम्स निसम, अभिषेक तिवारी, ललित राजवंशी, राहुल यादव र अमरसिंह रौटेलालगायतका खेलाडी छन्।
ऐतिहासिक प्रतिस्पर्धामा सुदूरपश्चिमको अग्रता रहे पनि उपाधि भिडन्तमा जनकपुरले बाजी मारेको इतिहास छ। त्यसैले मंगलबारको खेलमा दुवै टोली जितका लागि प्रतिस्पर्धा गर्दा जनकपुरलाई प्लेअफ सम्भावना कायम राख्न र सुदूरपश्चिमलाई शीर्ष स्थानतर्फ अघि बढ्न जित आवश्यक हुनेछ।