

भक्तपुर । नेपाल संवत् ११४७ नयाँ वर्षको अवसरमा भक्तपुरमा आज भव्य सांस्कृतिक भिन्तुना र्याली निकालिएको छ। परम्परागत बाजागाजा, सांस्कृतिक प्रस्तुति र विभिन्न समुदायको उत्साहजनक सहभागितासहित निकालिएको र्यालीले भक्तपुरको मौलिक कला, संस्कृति र पहिचान झल्काएको छ।
नेपाल भाषा साहित्य तःमुंज्या र सांस्कृतिक भिन्तुना र्याली आयोजक समितिको आयोजनामा भएको र्यालीमा सयौँ बाजागाजा समूहसहित हजारौँ मानिस सहभागी भएका थिए।

र्याली भक्तपुरको सूर्यमढी र टौमढीबाट एकैसाथ सुरु भएको थियो। दुवै स्थानबाट निस्किएका र्याली नगरका विभिन्न टोल तथा बजार परिक्रमा गर्दै भक्तपुर दरबार क्षेत्रस्थित खौमामा पुगेर समापन भएका थिए।
खौमामा पुगेपछि सहभागीहरूले नेपाल भाषाका सेवक, समाज सुधारक तथा शिक्षासेवी मास्टर जगतसुन्दर मल्लको सालिकमा फूलमाला तथा फूलका गुच्छा अर्पण गरी श्रद्धासुमन व्यक्त गरेका थिए। त्यसपछि गीत, संगीत, नृत्य तथा विविध सांस्कृतिक प्रस्तुतिसहित सभा आयोजना गरिएको थियो। सांस्कृतिक कार्यक्रममा सयौँ कलाकारले आफ्नो कला प्रस्तुत गरेका थिए।

कार्यक्रममा नेपाल भाषा साहित्य तःमुंज्याका अध्यक्ष आशाकुमार चिकंबञ्चार तथा ४६औँ नेपाल भाषा साहित्य सम्मेलन आयोजक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिका–७ का वडाध्यक्ष उकेश कवांलगायतले मन्तव्य व्यक्त गरेका थिए।
र्यालीमा परम्परागत बाजागाजा, विभिन्न सांस्कृतिक समूह तथा जातजातिका मानिसहरूको उल्लेख्य सहभागिता रहेको थियो। नेपाल भाषा, कला, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित र्यालीले भक्तपुरको सांस्कृतिक वैभव र सामुदायिक एकतालाई उजागर गरेको छ।
