यू-१९ एसिया कप : पाकिस्तानसँग १०१ रनले पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरियो

यू-१९ एसिया कप : पाकिस्तानसँग १०१ रनले पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरियो

काठमाडौं । ओमानमा जारी यू-१९ एसिया कप क्रिकेटमा नेपाल जितविहीन हुँदै समूह चरणबाटै बाहिरिएको छ। समूह चरणको अन्तिम खेलमा मंगलबार पाकिस्तानसँग १०१ रनले पराजित भएपछि नेपालको प्रतियोगितामा यात्रा टुंगिएको हो।

पाकिस्तानले दिएको २७६ रनको लक्ष्य पछ्याएको नेपाल १७४ रनमै अलआउट भयो। यसअघि दुई खेलमा कमजोर प्रदर्शन गरेको नेपालले पाकिस्तानविरुद्ध केही सुधारिएको ब्याटिङ गरे पनि जित निकाल्न सकेन।

पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २७५ रन बनाएको थियो। जवाफमा नेपालले १७४ रन मात्रै बनाउन सक्यो।

नेपाल यसअघि पहिलो खेलमा भारतसँग १० विकेटले पराजित भएको थियो। उक्त खेलमा नेपाल १२९ रनमै समेटिएको थियो। दोस्रो खेलमा यूएईसँग सात विकेटले हारेको नेपालले १५३ रन मात्रै बनाउन सकेको थियो। लगातार तीन खेलमा पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिरिएको छ।