

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालको वैदेशिक व्यापार ७ खर्ब ६१ अर्ब रुपैयाँ नाघेको छ। भन्सार विभागका अनुसार साउनदेखि असोजसम्म ७ खर्ब ६१ अर्ब ७ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको हो।
यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४०.७१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालले ५ खर्ब ४० अर्ब ८६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो।
वैदेशिक व्यापार बढेसँगै व्यापार घाटा पनि उल्लेख्य रूपमा वृद्धि भएको छ। चालु आर्थिक वर्षको असोजसम्म नेपालले ५ खर्ब ३२ अर्ब ४९ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४.७१ प्रतिशत बढी हो। अघिल्लो वर्षको पहिलो तीन महिनामा व्यापार घाटा ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ थियो।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ६ खर्ब ४६ अर्ब ७८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.१८ प्रतिशत बढी हो। अघिल्लो वर्षको सोही अवधिमा ४ खर्ब ६८ अर्ब ८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो।
यस अवधिमा नेपालबाट हुने निर्यातमा पनि वृद्धि भएको छ। चालु आर्थिक वर्षको असोजसम्म १ खर्ब १४ अर्ब २८ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५७.०३ प्रतिशत बढी हो। अघिल्लो वर्षको पहिलो तीन महिनामा ७२ अर्ब ७८ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको थियो।
आयात र निर्यात दुवै बढे पनि आयातको तुलनामा निर्यातको आकार निकै कम रहेकाले नेपालको व्यापार घाटा उच्च रहेको तथ्याङ्कले देखाउँछ।