दसैंपछि नेप्से ओरालो, ७ दिनको लगातार बढाइमा ब्रेक

दसैंपछि नेप्से ओरालो, ७ दिनको लगातार बढाइमा ब्रेक

काठमाडौं । दसैंअघि लगातार सात कारोबार दिनसम्म उकालो लागेको सेयर बजार दसैंपछिको पहिलो कारोबार दिन सोमबार घटेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.३४ अंकले घट्दै २६२९ अंकमा झरेसँगै सात दिनको लगातार बढ्दो क्रम रोकिएको हो।

आज ९९ कम्पनीको सेयर मूल्य बढ्दा १७१ कम्पनीको मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ। कारोबार रकम पनि घटेको छ। दसैंअघिको अन्तिम कारोबार दिन ४ अर्ब ८८ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा सोमबार करिब ४ अर्ब रुपैयाँको मात्रै कारोबार भएको छ।

उत्पादन र व्यापार समूहमा आकर्षण

समग्र बजार घटे पनि उत्पादन तथा प्रशोधन र व्यापार समूहमा भने लगानीकर्ताको आकर्षण देखिएको छ। उत्पादन तथा प्रशोधन समूह १.०३ प्रतिशत र व्यापार समूह १.११ प्रतिशतले बढेको छ। व्यापार समूहमा विशाल बजार कम्पनीको सेयर मूल्य १.४१ प्रतिशतले बढेपछि समग्र समूहमा सकारात्मक प्रभाव परेको हो। यो समूहमा विशाल बजार र साल्ट ट्रेडिङ गरी दुई कम्पनी मात्रै सूचीकृत छन्।

त्यसैगरी, सिमेन्ट कम्पनीहरूको मूल्यवृद्धिले उत्पादन तथा प्रशोधन समूहलाई माथि उकासेको छ।

बेनी हाइड्रोको सर्वाधिक वृद्धि

हालै सूचीकृत बेनी हाइड्रोपावरको सेयर मूल्य सोमबार सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ। यसैगरी, माथिल्लो मैलुङखोला जलविद्युत् ५.८१ प्रतिशत, सोनापुर सिमेन्ट ५.०७ प्रतिशत, सगरमाथा जलविद्युत् ४.७२ प्रतिशत, घोराही सिमेन्ट ४.४७ प्रतिशत, सानिमा मिडिल तमोर ३.८४ प्रतिशत र सानिगढ हाइड्रो ३.७८ प्रतिशतले बढेका छन्।

चिरख्वा हाइड्रोमा सबैभन्दा ठूलो गिरावट

आज चिरख्वा हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ७.९२ प्रतिशतले घटेको छ। यस्तै, महिला लघुवित्त वित्तीय संस्था ७.५७ प्रतिशत, गुराँस लघुवित्त ५.८१ प्रतिशत, एसियन हाइड्रोपावर ४.३४ प्रतिशत, अपोलो हाइड्रोपावर ४.१६ प्रतिशत र शुभम् पावर ४.११ प्रतिशतले घटेका छन्।

यी कम्पनीमा सर्वाधिक कारोबार

कारोबार रकमका आधारमा सोमबार घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। यसपछि शिवम् सिमेन्ट, माउन्टेन इनर्जी, ग्रिन भेन्चर्स, हिमालयन डिस्टिलरी, अपि पावर, सानिमा बैंक र सानिमा मिडिल तमोर सबैभन्दा बढी कारोबार हुने कम्पनीको सूचीमा परेका छन्।