नेप्से ३३ अंकले बढ्यो, कारोबार रकम साढे ७ अर्ब नजिक

नेप्से ३३ अंकले बढ्यो, कारोबार रकम साढे ७ अर्ब नजिक

काठमाडौं । साताको कारोबारका क्रममा बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३.२९ अंकले बढेर २ हजार ६६४.०६ विन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन मंगलबार करिब स्थिर रहेको बजार बुधबार भने उल्लेख्य रूपमा बढेर बन्द भएको हो।

यस दिन सेन्सेटिभ इन्डेक्स ६.३२ अंक, फ्लोट इन्डेक्स २.६२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.३९ अंकले बढेका छन्।

नेप्सेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। मंगलबार ५ अर्ब ७९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बुधबार ७ अर्ब ४५ करोड ८६ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

यस दिन ३४८ कम्पनीका १ करोड ९३ लाख ९७ हजार कित्ता सेयर ६३ हजार ७४४ पटकको कारोबारमार्फत किनबेच भएका छन्।

बेनी हाइड्रोपावरमा सकारात्मक सर्किट

बुधबार बेनी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर मूल्य ७० रुपैयाँले बढेर प्रतिकित्ता ५३६ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ।

त्यस्तै, बुटवल पावर कम्पनीको सेयर मूल्य साढे १० प्रतिशतभन्दा बढी बढेको छ। सुपर खुदी हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको सेयर मूल्य पनि ६ प्रतिशतभन्दा बढीले बढेको छ। यस दिन मूल्य घटेका कम्पनीहरूको गिरावट दर भने ३ प्रतिशतभन्दा कम रहेको छ।

लिबर्टी इनर्जीको कारोबार सबैभन्दा बढी

कारोबार रकमका आधारमा लिबर्टी इनर्जी कम्पनी शीर्ष स्थानमा रहेको छ। कम्पनीको ३२ करोड ५० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

त्यस्तै, घलेम्दी हाइड्रोपावरको २८ करोड रुपैयाँभन्दा बढी र बुटवल पावर कम्पनीको करिब साढे २६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

१२ उपसमूहको परिसूचक बढ्यो

यस दिन नेप्सेका १३ उपसमूहमध्ये १२ वटाको परिसूचक बढेको छ भने व्यापार उपसमूहको परिसूचक सामान्य अंकले घटेको छ।

जलविद्युत् उपसमूहको परिसूचक सर्वाधिक २.०६ प्रतिशतले बढेको छ। बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी र जीवन बिमा उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले बढेका छन्।

समग्रमा अधिकांश उपसमूहमा वृद्धि र कारोबार रकममा आएको बढोत्तरीले बुधबार सेयर बजारमा सकारात्मक गति देखिएको छ।