

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता र स्वाधीनताको रक्षा गर्न आन्दोलनको विकल्प नभएको बताएका छन्। देशलाई थप सङ्कटमा जानबाट रोक्न आन्दोलनको तयारी गर्नुपर्ने उनको भनाइ छ।
बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा मनोनीत तीन केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउँदै अध्यक्ष ओलीले देशले अहिले स्वतन्त्रताको उपयोग गर्न नपाएको र स्वाधीनता खण्डित भएको टिप्पणी गरे।
“अहिले देशले स्वतन्त्रता उपयोग गर्न पाएको छैन, स्वाधीनता खण्डित भएको छ। देश कम्तीमा स्वतन्त्रता र स्वाधीनताको अभ्यास गर्न सक्ने अवस्थामा हुनुपर्छ,” ओलीले भने।
उनले देशमा नागरिकले बोल्न नसक्ने अवस्था सिर्जना गरिएको, राज्य आतङ्क र गुण्डाराज चलिरहेको तथा सरकार बेलगाम रूपमा फासीवादतर्फ अगाडि बढिरहेको आरोप लगाए। यस्तो अवस्था थप बिग्रन नदिन देशलाई स्वतन्त्रता र स्वाधीनताको अभ्यास गर्न सक्ने अवस्थामा पुर्याउनुपर्ने उनले बताए।
एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई गन्तव्य बनाएर आधुनिक नेपाल निर्माणको लक्ष्य लिएको उल्लेख गर्दै ओलीले देशलाई अहिलेको सङ्कटपूर्ण अवस्थाबाट पार लगाउने अभिभारा पनि पार्टीको काँधमा आएको बताए।
उनले पार्टीको नीति र विचारका आधारमा एकताबद्ध तथा अनुशासित भएर अघि बढ्न नेता–कार्यकर्तालाई आग्रह गरे। त्यसो गर्दा मात्रै कार्यकर्तामा उत्साह भर्न, जनतामा एमालेप्रतिको आकर्षण फर्काउन र पार्टीले लिएको जिम्मेवारी पूरा गर्न सकिने उनको भनाइ थियो।
गत वर्ष फागुन २१ गते भएको निर्वाचनलाई चुनाव नभई प्रतिगमनको योजनाबद्ध दोस्रो शृङ्खला भएको टिप्पणी गर्दै ओलीले एमाले सत्य, न्याय, देश र जनताको पक्षमा रहेको दाबी गरे। उनले आगामी स्थानीय तहको निर्वाचनमा एमालेले विजय हासिल गर्ने विश्वाससमेत व्यक्त गरे।