

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौंका ऐतिहासिक गल्ली, मन्दिर र सम्पदाहरू भौतिक संरचना मात्र नभई सहरको विशिष्ट जीवनशैली र पहिचान भएको बताएकी छन्। उनले काठमाडौंलाई दौडिएर मात्र नभई यसको संस्कृति, परम्परा र जनजीवनलाई गहिरोसँग महसुस गर्दै अपनत्व बढाउनुपर्नेमा जोड दिएकी छन्।
काठमाडौं महानगरपालिकाले आयोजना गरेको १० किलोमिटर लामो ‘हेरिटेज रन’ का अवसरमा बोल्दै डंगोलले नागरिक, सम्पदा र संस्कृतिलाई केन्द्रमा राखेर महानगरले कार्यक्रमहरू सञ्चालन गरिरहेको बताइन्।
वसन्तपुर क्षेत्रबाट सुरु भएको दौडमा विभिन्न उमेर समूहका धावकहरूको उल्लेख्य सहभागिता थियो। डंगोलले बिहानीपखको काठमाडौंको मौलिक सुगन्ध, भजन–कीर्तन, परम्परागत खाजा र मन्दिरको वातावरणले सहरलाई जीवन्त बनाउने उल्लेख गरिन्। उनका अनुसार पैदल यात्रा वा दौडमार्फत सहरका गल्ली र सम्पदासँग नजिकिँदा काठमाडौंसँग आत्मीय सम्बन्ध स्थापित गर्न सकिन्छ।
“काठमाडौं महानगरपालिकाले आयोजना गरेको हेरिटेज रन केवल दौड प्रतियोगिता होइन, काठमाडौंको संस्कृति, सम्पदा र जनजीवनसँग जोडिने अवसर हो। काठमाडौंका मन्दिर, गल्ली, परम्परा, संगीत र खानपानले हाम्रो मौलिक पहिचान झल्काउँछन्। त्यसैले हाम्रो उद्देश्य दौडिनु मात्र नभई काठमाडौंलाई महसुस गर्नु र यसप्रति अपनत्व बढाउनु हो,” उनले भनिन्।
हेरिटेज रनमा हजुरबुवा–हजुरआमादेखि नातिनातिनासम्मका तीन पुस्ताको उत्साहजनक सहभागिता देखिएको थियो। डंगोलका अनुसार ७५ वर्षका ज्येष्ठ नागरिकदेखि युवा तथा बालबालिकासम्मले १० किलोमिटर दूरी पार गरेका थिए।
अनलाइन दर्ता खुला गरिएको २४ घण्टाभित्रै निर्धारित कोटा पूरा भएपछि दर्ता प्रक्रिया बन्द गर्नुपरेको उनले जानकारी दिइन्। नागरिकको उत्साहजनक सहभागिताले आगामी दिनमा यस्ता रचनात्मक कार्यक्रम थप आयोजना गर्न प्रेरणा मिलेको उनको भनाइ थियो।
महानगरपालिकाले हेरिटेज रनलाई आगामी कात्तिक १३ देखि १५ गतेसम्म आयोजना हुने ‘काठमाडौं फिल्म फेस्टिभल’ को प्रवर्द्धनात्मक कार्यक्रमका रूपमा समेत अघि बढाएको छ। उक्त मिति सन् २०२६ अक्टोबर ३० देखि नोभेम्बर १ सम्म पर्छ। डंगोलका अनुसार खेलकुद, साहित्य, कला र सम्पदालाई चलचित्रमार्फत एकाकार गर्ने उद्देश्यले फिल्म फेस्टिभल आयोजना गर्न लागिएको हो।
“हेरिटेज रनमा विभिन्न पुस्ताको उत्साहजनक सहभागिताले हामीलाई यस्ता कार्यक्रम निरन्तर गर्न प्रेरणा दिएको छ। यसै क्रममा कात्तिक १३, १४ र १५ गते काठमाडौं फिल्म फेस्टिभल आयोजना हुँदैछ। नेपाली तथा अन्तर्राष्ट्रिय गरी ४० वटा चलचित्र निःशुल्क प्रदर्शन गरिनेछन्,” उनले भनिन्।
उनले चलचित्रप्रेमी, कलाकार तथा सर्वसाधारणलाई परिवार र साथीभाइसँगै महोत्सवमा सहभागी हुन आह्वान गरिन्। महोत्सवसम्बन्धी विस्तृत जानकारी महानगरपालिकाको आधिकारिक सामाजिक सञ्जालमार्फत उपलब्ध हुने उनले बताइन्।
महोत्सवको पहिलो दिन वसन्तपुर डबलीमा खुला आकाशमुनि विशेष प्रदर्शनमार्फत उद्घाटन गरिनेछ। दोस्रो र तेस्रो दिन ऐतिहासिक राष्ट्रिय सभागृह तथा जय नेपाल सिनेमा हलमा चलचित्र प्रदर्शन गर्ने तयारी छ।
राष्ट्रिय सभागृहमा विशेषगरी सन् १९७० र १९८० को दशकका पुराना मौलिक नेपाली चलचित्र निःशुल्क प्रदर्शन गरिनेछ। जय नेपाल सिनेमा हलमा अन्तर्राष्ट्रिय चलचित्रसहित महोत्सवमा समावेश ४० चलचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ।
महोत्सवमा सहभागी हुन इच्छुक दर्शकले काठमाडौं महानगरपालिकाको आधिकारिक सामाजिक सञ्जाल पेजमार्फत निःशुल्क अनलाइन टिकट बुक गर्न सक्ने व्यवस्था मिलाइएको छ। महानगरपालिकाले हेरिटेज रन र फिल्म फेस्टिभलमार्फत काठमाडौंको ऐतिहासिक सम्पदा, संस्कृति, कला र जनजीवनसँग नागरिकको सम्बन्ध थप प्रगाढ बनाउने लक्ष्य राखेको छ।