काठमाडौंको न्यूनतम तापक्रम १३.३ डिग्रीमा झर्‍यो, यस वर्षकै कम

काठमाडौंको न्यूनतम तापक्रम १३.३ डिग्रीमा झर्‍यो, यस वर्षकै कम
काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम दिनप्रतिदिन घट्दै गएको छ। शुक्रबार बिहान ५ः४५ बजे गरिएको प्रारम्भिक मापनमा उपत्यकाको न्यूनतम तापक्रम १३.३ डिग्री सेल्सियसमा झरेको छ। यो यस वर्ष अहिलेसम्मकै कम न्यूनतम तापक्रम हो।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार बिहीबार बिहान सोही समयमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस थियो। बिहीबारको तुलनामा शुक्रबार बिहान तापक्रम ०.२ डिग्री सेल्सियसले घटेको हो।

यद्यपि, बिहीबार बिहान ८ः४५ बजे गरिएको अन्तिम मापनमा उपत्यकाको न्यूनतम तापक्रम १३.३ डिग्री सेल्सियस कायम भएको थियो।

शुक्रबारको वास्तविक न्यूनतम तापक्रम पनि बिहान ८ः४५ बजे पुनः मापन गरिने मौसमविद् अधिकारीले बताए। उनका अनुसार अन्तिम मापनमा प्रारम्भिक मापनभन्दा तापक्रम केही घट्न सक्ने भए पनि कहिलेकाहीँ सुरुकै तापक्रम कायम रहन सक्छ।

मौसमविद् अधिकारीका अनुसार प्रारम्भिक मापनलाई आधार मान्दा १३.३ डिग्री सेल्सियस काठमाडौं उपत्यकामा यस वर्ष अहिलेसम्मकै कम न्यूनतम तापक्रम हो।