कांग्रेस महाधिवेशन : पटक-पटक सरेको मतदान शुक्रबार बिहान ७ बजेदेखि

कांग्रेस महाधिवेशन : पटक-पटक सरेको मतदान शुक्रबार बिहान ७ बजेदेखि

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदान शुक्रबार बिहान ७ बजेदेखि हुने भएको छ। यसअघि बिहीबार मतदान गर्ने कार्यतालिका रहे पनि पटक-पटक समय सारिएको थियो। आवश्यक प्राविधिक तयारी पूरा हुन नसकेपछि बिहीबार मतदान सम्भव नभएको निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समितिले यसअघि बिहीबार बिहान ७ बजेदेखि मतदान सुरु गर्ने तालिका बनाएको थियो। तर वर्षा र प्राविधिक कारण देखाउँदै मतदानको समय बिहान १० बजेसम्म सारिएको थियो।

त्यसपछि आवश्यक तयारी पूरा गर्न समय लाग्ने भन्दै १० बजेबाट दिउँसो १ बजेका लागि सारिएको थियो। पुनः एक घण्टा पछि धकेल्दै दिउँसो २ बजे मतदान गर्ने भनिए पनि अन्ततः बिहीबार मतदान हुन नसक्ने भएपछि शुक्रबारका लागि नयाँ तालिका सार्वजनिक गरिएको हो।

नयाँ कार्यतालिकाअनुसार शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ। मतदानका लागि काठमाडौंको राष्ट्रिय सभा गृह र खुलामञ्चमा आवश्यक मतदान केन्द्र तथा बुथ निर्माण गरिएका छन्। कांग्रेस महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति चयन गर्न महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्नेछन्।