शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले लिए अनुमति

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले लिए अनुमति

काठमाडौं । सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न ३१ हिमाल आरोहणका लागि ७८८ जना आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार ७० देशका ९१ टोलीका ७८८ आरोहीले हिमाल आरोहणका लागि अनुमति लिएका हुन्।

विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार अनुमति लिनेमा ५८२ पुरुष र २०६ महिला छन्। उनीहरूबाट विभागले आरोहण रोयल्टीबापत १६ लाख २७ हजार ६५९ अमेरिकी डलर अर्थात् २४ करोड ७२ लाख सात हजार ६०१ रुपैयाँ सङ्कलन गरेको छ।

मनास्लुमा सबैभन्दा बढी आरोही

यस सिजन अनुमति जारी गरिएका हिमालमध्ये सबैभन्दा बढी आरोहीले मनास्लु (८,१६३ मिटर) आरोहणका लागि अनुमति लिएका छन्। मनास्लुका लागि मात्रै ४३ टोलीका ५०० जनाले अनुमति लिएका छन्। उनीहरूबाट विभागले २२ करोड ५८ लाख ५७ हजार १८९ रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ।

त्यस्तै, धौलागिरि–१ आरोहणका लागि पाँच टोलीका ३६ जनाले अनुमति लिएका छन्। त्यसबाट विभागले ८२ लाख ४२ हजार ५० रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ। हिम्लुङ हिमाल आरोहणका लागि तीन टोलीका ३४ जनाले अनुमति लिएका छन्। त्यसबाट २० लाख ८७ हजार ८०० रुपैयाँ रोयल्टी सङ्कलन भएको विभागले जनाएको छ।

आमादब्लम हिमाल आरोहणका लागि दुई टोलीका १९ जनाले अनुमति लिएका छन्। उनीहरूबाट विभागले २९ लाख १२ हजार रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ।

यसैगरी पुथा हिउँचुली, डाङ्गा हिउँचुली, बरुणत्से, मकालु, गङ्गापूर्णा पश्चिम (लाङचेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक (धाम्पुस), पोखर खाङ, अर्दाङ र पेरीलगायत हिमालका लागि पनि आरोहण अनुमति जारी गरिएको छ।

चीनबाट सबैभन्दा धेरै आरोही

विभागका अनुसार आरोहण अनुमति लिने विदेशीमध्ये सबैभन्दा धेरै चीनका नागरिक छन्। चीनका ११८ जनाले अनुमति लिएका छन्। त्यस्तै, रसियाका ६५, फ्रान्सका ६०, अमेरिकाका ५२, बेलायतका ४५, पोल्याण्डका २५, नेपालका २३, स्वीजरल्याण्डका १६, स्पेनका १६, भारतका १८, इटलीका २३ र जापानका २५ जनाले आरोहण अनुमति लिएका छन्।

विभागले शरद् ऋतुका लागि जारी गरेको आरोहण अनुमतिबाट कुल १६ लाख २७ हजार ६५९ अमेरिकी डलर अर्थात् २४ करोड ७२ लाख सात हजार ६०१ रुपैयाँ रोयल्टी सङ्कलन गरेको जनाएको छ।