

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा कम्प्युटेसनल साइन्स एन्ड इन्जिनियरिङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (IC-AICSE 2026) काठमाडौंमा सम्पन्न भएको छ।
एभरेस्ट इन्जिनियरिङ कलेजको आयोजना तथा हिमालयन इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजीको सहआयोजनामा बुधबार बुढानीलकण्ठमा सम्मेलन सम्पन्न भएको हो। सम्मेलनको प्रमुख आतिथ्य बागमती विश्वविद्यालयका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले गरेका थिए।
सम्मेलनका सदस्यसचिव सहप्राध्यापक इन्जिनियर राजन लामा तथा सहआयोजकका तर्फबाट इन्जिनियर चर्चित नगिलाले सहभागी तथा अतिथिलाई स्वागत गरेका थिए। इन्जिनियर प्रकृति गिरी र इन्जिनियर जस्मी खड्काले संयुक्त रूपमा सञ्चालन गरेको उद्घाटन सत्रमा अनुसन्धानपत्रहरूको निचोड समेटिएको ‘एब्स्ट्र्याक्ट बुक’ सार्वजनिक गरिएको थियो।
उद्घाटन सत्रमा OPEN का अध्यक्ष नवराज पाण्डे, क्यानका प्रतिनिधि, IEEE Women in Engineering की अध्यक्ष डा. प्रतिमा प्रधान, अन्तर्राष्ट्रिय प्रतिनिधि तथा आयोजक संस्थाका पदाधिकारीले नेपालमा एआई तथा कम्प्युटेसनल साइन्स एन्ड इन्जिनियरिङको विकास, सम्भावना र आगामी दिशाबारे धारणा राखेका थिए।

सम्मेलनमा नाइजेरियाको युनिभर्सिटी अफ एग्रिकल्चरका प्रोफेसर डा. डेनियल ओलुवासेगुन एडम्स, लिथुआनियाका प्रोफेसर डा. अदिबायो अबायोमी-अल्ली, दक्षिण कोरियाका प्रोफेसर डा. क्युङ वाई. बे तथा अस्ट्रेलियाको युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीका डा. सोजेन प्रधानले मुख्य वक्ताका रूपमा कार्यपत्र प्रस्तुत गरेका थिए।
नेपाली तथा विदेशी विज्ञसहित २२० जनाको सहभागिता रहेको सम्मेलनमा चारवटा समानान्तर प्राविधिक सत्र सञ्चालन गरिएको थियो। ती सत्रमा एआई, कम्प्युटेसनल साइन्स तथा इन्जिनियरिङसँग सम्बन्धित विभिन्न विषयमा ३९ वटा अनुसन्धानपत्र प्रस्तुत गरिएको थियो।
समानान्तर प्राविधिक सत्रको अध्यक्षता ACEM का डा. विपुन मान पाटी, नेपाल इन्जिनियरिङ कलेजका डा. तुसिता चाँदनी शाही, नेपाल टेलिकमका डा. कमल लामिछाने तथा एभरेस्ट इन्जिनियरिङ कलेजका डा. सुनिल चौधरीले गरेका थिए।
सम्मेलनलाई विभिन्न संस्था तथा निकायले प्राविधिक तथा आर्थिक सहयोग गरेका थिए। नेपाल इन्जिनियरिङ परिषद्ले सम्मेलनमा अनुसन्धानपत्र प्रस्तुत गर्ने विज्ञलाई एक घण्टा बराबरको निरन्तर पेशागत विकास (CPD) मूल्याङ्कन प्रदान गरेको थियो।
समापन समारोहमा सहआयोजक, प्रायोजक तथा सत्रका अध्यक्ष र सहअध्यक्षलाई सम्मान गरिएको थियो। मुख्य वक्तालाई प्रमुख अतिथि प्रा.डा. पौडेलले तथा अनुसन्धानपत्र प्रस्तुतकर्तालाई सम्बन्धित सत्रका अध्यक्षहरूले प्रमाणपत्र वितरण गरेका थिए।
त्यसैगरी अन्य सहयोगीलाई सम्मेलन अध्यक्ष, एभरेस्ट इन्जिनियरिङ कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठ तथा कलेजका प्रमुख प्रशासकीय अधिकृत अरुणकुमार भण्डारीले संयुक्त रूपमा प्रमाणपत्र प्रदान गरेका थिए।
अनुसन्धानपत्र प्रस्तुतकर्ता, सहभागी तथा सम्मेलन सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै सम्मेलन अध्यक्षले समापन मन्तव्य दिएका थिए।