

हेटौँडा । सीमान्तकृत आदिवासी चेपाङ समुदायले आज आफ्नो प्रमुख सांस्कृतिक तथा धार्मिक पर्व न्वागी (छोनाम) श्रद्धा र उल्लासका साथ मनाउँदैछन्। विशेषगरी मकवानपुर, चितवन, धादिङ र गोरखाका चेपाङ बस्तीमा यो पर्व मनाइँदैछ। न्वागीका अवसरमा बागमती प्रदेश सरकारले मकवानपुर, चितवन र धादिङमा सार्वजनिक बिदा दिएको छ। चेपाङ समुदायको संस्कृति र परम्पराको संरक्षण तथा सम्मानका लागि प्रदेश सरकारले २०७९ सालदेखि यी जिल्लामा न्वागीका अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ।
नयाँ अन्नबाली भित्र्याएपछि त्यसलाई सर्वप्रथम पितृ र भूमिलाई अर्पण गरेर मात्र उपभोग गर्ने परम्परा न्वागीसँग जोडिएको छ। पितृलाई अर्पण नगरी तथा भूमिको पूजा नगरी नयाँ अन्न, फलफूल र कन्दमूल खान नहुने धार्मिक विश्वास चेपाङ समुदायमा छ।
न्वागीका दिन घैया धान, काउनो, गाभा, पिँडालु, घिरौँला, निबुवालगायत नयाँ उत्पादन पितृ तथा भूमिलाई चढाउने गरिन्छ।
पर्वका अवसरमा झाँक्री (पान्दे)ले ढ्याङ्ग्रो बजाउँदै पूजा तथा धार्मिक विधि सम्पन्न गर्ने र पितृको स्मरण गर्ने परम्परा छ। कतिपय स्थानमा कुखुराको बलि दिने चलनसमेत रहेको छ। पूजा सम्पन्न भएपछि आफन्त तथा छरछिमेकी भेला भएर सामूहिक भोज खाने, नाचगान गर्ने, टीका लगाउने तथा आशीर्वाद आदानप्रदान गर्ने गरिन्छ।
चेपाङ भाषामा न्वागीलाई ‘छोनाम’ भनिन्छ। नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङका अनुसार कुल तथा स्थानअनुसार भदौ सुरु भएदेखि नै झाँक्रीमार्फत पूजा तथा धार्मिक विधि सुरु गर्ने चलन छ।
उनका अनुसार न्वागी नयाँ अन्न खाने दिन मात्र नभई पितृ र प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने पर्व पनि हो। नयाँ बाली पितृलाई नचढाई खाएमा अनिष्ट हुने जनविश्वास रहेको उनले बताए।
न्वागीलाई चेपाङ समुदायले ‘वारना’का रूपमा समेत मनाउँछन्। यस दिन काममा ननिस्की परिवारका सदस्य घरमै बसेर पूजा, संस्कार तथा भेटघाटमा सहभागी हुने र वर्षभरि मृत्यु भएका आफन्तको सम्झनामा विशेष पूजा गर्ने परम्परा छ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा चेपाङ समुदायको जनसङ्ख्या ८४ हजार ३६४ रहेको छ। उनीहरूको मुख्य बसोबास मकवानपुर, चितवन, धादिङ र गोरखाका पहाडी क्षेत्रमा छ।
हरेक वर्ष भदौ २२ गते चितवन, मकवानपुर, धादिङ र गोरखामध्ये पालैपालो एक जिल्लामा न्वागी महोत्सव आयोजना गर्ने गरिएको छ। न्वागीलाई चेपाङ समुदायको मौलिक संस्कृति, जीवनशैली, प्रकृतिसँगको सम्बन्ध र सामाजिक एकता झल्काउने महत्वपूर्ण पर्वका रूपमा लिइन्छ।