यी जिल्लाका साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम

यी जिल्लाका साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान ८ बजेसम्म देशका प्रमुख नदी तथा तिनका सहायक नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ। महाशाखाका अनुसार कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको जलसतह पनि हाल सतर्कता तहभन्दा तल नै रहेको छ।

तर, केही जिल्लाका साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्न सक्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, गोरखा, लमजुङ, बागलुङ, तनहुँ, म्याग्दी, कास्की, सल्यान, रुकुमपूर्व, रुकुमपश्चिम, जाजरकोट, बझाङ तथा आसपासका जिल्लाबाट बहने साना नदीमा बहाव उल्लेख्य बढ्न सक्ने पूर्वानुमान गरिएको छ।

यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले नदी तथा खोलाको आसपास र तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।