

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। बुधबार प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १७२ बमोजिम शाहीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
यसअघि प्रदेश प्रमुख जोशीले मंगलबार संविधानको धारा १६८ (२) बमोजिम शाहीलाई कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। नेकपा (एमाले)का यामलाल कँडेल नेतृत्वको सरकारविरुद्ध नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले असार ३२ गते अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। त्यसपछि कँडेलले साउन ९ गते मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए।
कँडेलको राजीनामाकै दिन केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच नयाँ सत्ता समीकरण गर्ने सहमति भएको थियो। सोही सहमतिअनुसार कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपाले पाउने सहमति भएपछि शाही मुख्यमन्त्री बनेका हुन्।
नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता शाही दोस्रो कार्यकालमा कर्णाली प्रदेशका तेस्रो मुख्यमन्त्री बनेका छन्। प्रदेश स्थापना भएयता भने उनी पाँचौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका हुन्।