आज गुरु पूर्णिमा तथा व्यास जयन्ती, गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै

आज गुरु पूर्णिमा तथा व्यास जयन्ती, गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै

काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका अवसरमा आज देशभर गुरु पूर्णिमा श्रद्धा, सम्मान र भक्तिभावका साथ मनाइँदैछ। ज्ञान, शिक्षा र जीवनमार्ग देखाउने गुरुजनप्रति कृतज्ञता व्यक्त गर्ने दिनका रूपमा यो पर्व मनाउने परम्परा रहेको छ।

धार्मिक शास्त्रअनुसार ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हो। अज्ञानरूपी अन्धकार हटाएर ज्ञानको प्रकाश फैलाउने व्यक्तिलाई गुरु भनिन्छ। यही कारण गुरुको स्थानलाई ब्रह्मा, विष्णु र महेश्वरसरह उच्च मानिएको छ।

शास्त्रमा उल्लेख गरिएको प्रसिद्ध श्लोक—

“गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः ।
गुरुः साक्षात् परब्रह्म तस्मै श्रीगुरवे नमः ।।”

ले गुरुको महत्त्वलाई स्पष्ट रूपमा व्याख्या गरेको छ। माता–पितापछि गुरुको स्थान सर्वोच्च मान्दै ‘आचार्यदेवो भव’ भन्ने वैदिक मान्यता पनि प्रचलित छ।

गुरु पूर्णिमाको अवसरमा देशभरका विद्यालय, गुरुकुल, शैक्षिक संस्था तथा विभिन्न संघ–संस्थाले विशेष कार्यक्रम आयोजना गरी शिक्षक तथा गुरुजनप्रति सम्मान प्रकट गर्ने परम्परा रहेको छ।

आजै मनाइँदैछ व्यास जयन्ती

गुरु पूर्णिमाकै दिन वेदव्यासको जन्मजयन्ती अर्थात् व्यास जयन्ती पनि मनाइन्छ। वेदव्यासले वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गर्नुका साथै १८ पुराण, १८ उपपुराण तथा महाभारतजस्ता महान ग्रन्थहरूको रचना गरेका कारण उनलाई सनातन परम्पराका महान ऋषिका रूपमा सम्मान गरिन्छ।

व्यासले पुराणमार्फत दिएको सन्देश आज पनि उत्तिकै सान्दर्भिक मानिन्छ—

“अष्टादश पुराणेषु व्यासस्य वचन द्वयम् ।
परोपकारः पुण्याय, पापाय परपीडनम् ।।”

यसको अर्थ, अरूको उपकार गर्नु नै पुण्य हो र अरूलाई पीडा दिनु पाप हो भन्ने मानवीय सन्देश हो।

गुरु पूर्णिमा तथा व्यास जयन्तीका अवसरमा देशभरका गुरुकुल, शैक्षिक संस्था र धार्मिक संघ–संस्थाले विशेष पूजा, प्रवचन तथा सम्मान कार्यक्रम आयोजना गरेका छन्।

यसै अवसरमा नेपाल महर्षि वैदिक फाउन्डेसनले चम्पादेवीस्थित ब्रह्मानन्द सरस्वती ग्राममा विशेष कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा गुरु पूर्णिमाको धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक महत्त्वबारे प्रकाश पारिने फाउन्डेसनका अध्यक्ष तथा पूर्वमन्त्री दीपकप्रकाश बास्कोटाले जानकारी दिएका छन्।