साउने दोस्रो सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

साउने दोस्रो सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौं । साउनको दोस्रो सोमबारका अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिरसहित देशभरका प्रमुख शिवालयमा दर्शनार्थीको उल्लेखनीय भीड लागेको छ। साउने झरीको पर्वाह नगरी श्रद्धालुहरू बिहानैदेखि शिवदर्शन र पूजाआराधनाका लागि मन्दिर पुगेका छन्।

पशुपति क्षेत्र विकास कोषका अनुसार बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका भक्तजनका लागि खोलिएको छ। कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठले साउन महिनाको विशेष महत्त्वलाई मध्यनजर गर्दै दर्शनार्थीको सहजताका लागि आवश्यक सबै व्यवस्थापन गरिएको जानकारी दिइन्।

श्रद्धालुलाई सुरक्षित, व्यवस्थित र मर्यादित वातावरणमा दर्शन गराउने उद्देश्यले कोषका पदाधिकारी तथा कर्मचारीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौं महानगर प्रहरी तथा विभिन्न धार्मिक–सामाजिक संघसंस्थाको सक्रिय परिचालन गरिएको छ। पहिलो सोमबारको अनुभवका आधारमा यसपटक व्यवस्थापनलाई थप प्रभावकारी बनाइएको कोषले जनाएको छ।

कोषका सदस्यसचिव तीर्थ श्रेष्ठका अनुसार मन्दिरका चारै ढोका बेलुका आरतीपछि राति ८ बजेसम्म खुला रहनेछन् भने विशेष पूजा बिहान ८ः३० बजेदेखि दिउँसो १२ बजेसम्म मात्र सञ्चालन हुनेछ। दर्शनका लागि चारवटा छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ।

बिहानैदेखि भक्तजनको आगमन भए पनि हालसम्म अत्यधिक लाम नलागेको कोषले जनाएको छ। दर्शनार्थीका लागि प्राथमिक उपचारसहित अन्य आवश्यक सेवाको पनि व्यवस्था गरिएको छ।

पशुपतिनाथसँगै गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, मक्खन महादेवलगायत काठमाडौं उपत्यकाका प्रमुख शिवालयमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। यस्तै, देशभरका शिव मन्दिरमा पनि साउने सोमबारका अवसरमा श्रद्धालुहरू दर्शन र पूजाआराधनाका लागि पुगेका छन्।