पाँच वर्षभित्र नेपाललाई ‘डिजिटल हब’ बनाउने गगन थापाको घोषणा

पाँच वर्षभित्र नेपाललाई ‘डिजिटल हब’ बनाउने गगन थापाको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रलाई मुलुकको अर्थतन्त्रको नयाँ आधारस्तम्भका रूपमा विकास गर्ने विस्तृत कार्ययोजना सार्वजनिक गरेका छन्। सोमबार बिहान भिडियो सन्देशमार्फत् उनले आगामी पाँच वर्षभित्र नेपाललाई ‘डिजिटल हब’का रूपमा स्थापित गर्ने महत्वाकांक्षी लक्ष्य अघि सारे।

उनले केही समयअघि कीर्तिपुरको डाँडामा बसेर ल्यापटपमार्फत महिनाको तीन/चार लाख रुपैयाँ कमाउन सकिने सम्भावनाबारे दिएको अभिव्यक्ति मजाक र ट्रोलको विषय बनेको स्मरण गर्दै त्यसलाई ठोस योजना र अध्ययनमा आधारित धारणा भएको स्पष्ट पारे। उनका अनुसार त्यो कुनै हावादारी कल्पना नभई सम्भावनायुक्त योजना थियो।

थापाले आगामी पाँच वर्षभित्र नेपालबाट करिब चार खर्ब रुपैयाँ बराबरको सूचना प्रविधि तथा डिजिटल सेवा निर्यात गर्न सकिने दाबी गरे। त्यसका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र दक्ष जनशक्ति विकास अपरिहार्य रहेको उनले बताए।

उनका अनुसार ६० वर्ष पुरानो लगानीसम्बन्धी कानुन संशोधन गरी नेपाली आईटी कम्पनीहरूलाई विदेशमा लगानी र विस्तार गर्न सहज वातावरण बनाउनुपर्छ। हाल वार्षिक १५ हजार आईटी स्नातक उत्पादन भइरहे पनि बजारको माग र शैक्षिक सीपबीच समन्वयको अभाव रहेको उनले औंल्याए।

“मैले कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन/चार लाख कमाउन सकिन्छ भनेको थिएँ, त्यो हाँसोको विषय बन्यो। तर त्यो कुनै उडन्ते सपना थिएन,” उनले भने, “हामीले धेरै भाषण गरिसक्यौँ, अब काम गर्ने समय आएको छ। पाँच वर्ष खेर नफाली नेपाललाई डिजिटल हब बनाउन हामी प्रतिबद्ध छौँ।”