

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद भूमिका श्रेष्ठले संसद् प्रवेशपछिका पहिलो छ महिनाका रोचक अनुभव सुनाएकी छन्। संसद्मा सुरुमा ताली पिट्ने कि टेबल ठोक्ने भन्ने कुरामै आफूहरू अलमलमा परेको उनले बताएकी छन्। चितवनमा आयोजित एक कार्यक्रममा आफ्नो अनुभव सुनाउँदै श्रेष्ठले सांसद भएपछि तत्काल कानुन निर्माणमा जुट्ने चाहना भए पनि संसदीय प्रक्रिया र विधि बुझ्न समय लागेको बताइन्।
“समानुपातिक सांसदको सूचीमा नाम परिसकेपछि मलाई कहिले गएर कानुन लेखौँ, लेखौँ लागेको थियो। तर, यो कानुन भन्ने चाहिँ अलिकति सिस्टमले चलाउँदो रहेछ,” उनले भनिन्।
संसद्मा प्रवेश गरेपछि आफूहरूले सबैभन्दा पहिले टेबल ठोक्ने तरिका सिक्नुपरेको उनको भनाइ थियो। संसद्मा कुन अवस्थामा टेबल ठोक्ने र कुन अवस्थामा ताली बजाउने भन्ने कुरा सुरुमा थाहा नभएको उनले सुनाइन्।
“सुरुमा ढ्यापढ्याप गर्ने हो कि ताली पिट्ने हो, थाहा थिएन। म त एक्टिभिजमबाट आएको, सुरु-सुरुमा त ताली पिट्दो रहेछु। पछि चाहिँ ढ्यापढ्याप गर्न सिकियो,” श्रेष्ठले भनिन्।
सांसदहरूलाई दुई दिनको तालिम दिइए पनि सबै संसदीय प्रक्रिया एकैपटक बुझ्न नसकेको उनले बताइन्। शोक प्रस्तावका बेला हात उठाउनुपर्ने लगायतका प्रक्रियासमेत सिक्न बाँकी रहेको उनको अनुभव छ।
नयाँ राजनीतिक दलबाट संसद्मा पुगेका सांसदहरूले विभिन्न आलोचना र दबाबको सामना गर्नुपरेको श्रेष्ठले बताइन्। कतिपयले आफूहरूलाई ‘घण्टी’ र ‘खरानी ग्याङ’ जस्ता शब्द प्रयोग गरेर होच्याउने गरेको उनको गुनासो थियो।
मिडियासँग बोल्नसमेत असहज महसुस हुने अवस्था आएको उल्लेख गर्दै उनले सुरुका दिनमा केही सांसदलाई चिन्ता र मानसिक तनावसमेत भएको दाबी गरिन्।
“हामीले पनि धेरै कुरा सहनुपरेको छ। सुरु-सुरुमा त हामी केही सांसदलाई एन्जाइटी पनि भएको थियो,” उनले भनिन्।
कार्यक्रममा श्रेष्ठले पार्टीको आगामी राजनीतिक यात्राबारे पनि धारणा राखिन्। स्थानीय तहको निर्वाचनमा पार्टीमा सुरुदेखि नै सक्रिय भएर काम गरेका व्यक्तिले टिकट र अवसर पाउनुपर्ने विषयलाई सम्बोधन गर्न अझै समय रहेको उनले बताइन्।
विगतमा भएका कमजोरीलाई दोहोर्याउन नहुने उल्लेख गर्दै उनले पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिइन्।
“हिन्दीमा भनिन्छ नि, ‘भाइ फुटे गँवार लुटे’ भनेजस्तै, विगतका दिनमा जे भयो, भयो। अब हामीले त्यो गर्नु हुँदैन,” उनले भनिन्।
श्रेष्ठले चितवनलाई पार्टीको ‘नीलो क्रान्ति’ को जगका रूपमा व्याख्या गर्दै स्थानीय तहमा पनि पार्टीको उपस्थिति बलियो बनाउनुपर्ने बताइन्।
“चितवन जिल्ला भनेको नीलो क्रान्तिको जग हो। त्यो जग, त्यो खम्बालाई बलियो बनायौँ भने अरू जग पनि बलियो हुँदै जान्छन्,” उनले भनिन्।
संघीय सरकारमा सहभागी भए पनि प्रदेश र स्थानीय तहमा पार्टीको उपस्थिति कमजोर हुँदा काम गर्न कठिन भएको उनको भनाइ थियो। त्यसैले स्थानीय तहसम्म नीलो क्रान्ति विस्तार गर्ने प्रतिबद्धतासहित अघि बढ्न उनले आग्रह गरिन्।
देश, जनता र समाजको सुख, शान्ति तथा समृद्धिका लागि पार्टी नेतृत्वले काम गरिरहेको उल्लेख गर्दै श्रेष्ठले आफूहरू पनि यही उद्देश्यका साथ अघि बढ्नुपर्ने बताइन्।
संसदीय अभ्यासमा नयाँ भए पनि पहिलो छ महिनामा धेरै कुरा सिकेको अनुभव सुनाएकी श्रेष्ठले आगामी दिनमा पार्टी संगठन विस्तार, स्थानीय तहमा पहुँच र जनताका अपेक्षा सम्बोधन गर्ने विषयलाई प्राथमिकता दिनुपर्ने धारणा राखेकी छन्।