

काठमाडौं । संघीय संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दै छ। प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक सवा १२ बजे सुरु हुने भएको हो।
प्रतिनिधि सभाको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पारित गर्ने प्रमुख कार्यसूची रहेको छ। यसबारेमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने र विधेयक पारित गर्ने कार्यक्रम छ।
त्यसैगरी, बैठकमा गृह मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय तथा वन तथा वातावरण मन्त्रालयसम्बन्धी मौखिक प्रश्नमा सम्बन्धित मन्त्रीहरूले उत्तर दिनेछन्।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुसुमदेवी थापाले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नेछिन्। उक्त विधेयक बिहीबार समितिबाट बहुमतले पारित भएको थियो।
त्यस्तै, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव राख्नेछन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव पेस गर्नेछन् भने युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ समितिमा पठाउने प्रस्ताव पेस गर्नेछन्।
यसैगरी, राष्ट्रिय सभाको बैठकमा गृह मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची तय गरिएको छ।