

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (भदौ ५) दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ। बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेश गर्नेछन्।
त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भने ‘राष्ट्रियसभाबाट उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।