नेप्से ६.१५ अंकले बढेर २७७६.९‍० विन्दुमा, घट्यो कारोबार

नेप्से ६.१५ अंकले बढेर २७७६.९‍० विन्दुमा, घट्यो कारोबार

काठमाडौं । मंगलबार सेयर बजारमा उत्साहजनक सुधार देखिएको छ। नेप्से, सेन्सिटिभसहित सबै समूहगत सूचक हरियो बन्दा लगानीकर्तामा सकारात्मक सन्देश पुगेको छ।

नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ६.५१ अंकले बढ्दै २७७७ अंकमा पुगेको छ। कारोबार अवधिमा भने सूचक २७९६ अंकसम्म उक्लिएको थियो। सोमबार पनि बजार ९ अंकले बढेको थियो।

तर, कारोबार रकम भने केही घटेको छ। सोमबार ६ अर्ब १७ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ५ अर्ब ६३ करोडमा सीमित भयो। यस अवधिमा १४२ कम्पनीको मूल्य बढ्दा १०७ कम्पनीको घट्यो।

समूहगत सूचकमा सबै क्षेत्रमा वृद्धि भए पनि वृद्धिदर १ प्रतिशतभन्दा कम रह्यो। बैंकिङ ०.४०, विकास बैंक ०.२०, फाइनान्स ०.०२, होटल तथा पर्यटन ०.०५, हाइड्रोपावर ०.१६, लगानी ०.२१, जीवन बीमा ०.२५, उत्पादन तथा प्रशोधन ०.४६, माइक्रोफाइनान्स ०.१२, निर्जीवन बीमा ०.११, अन्य ०.०९ र व्यापार समूह ०.१८ प्रतिशतले बढे।

आज सान्भी इनर्जी ६.९८ प्रतिशतले बढेर शीर्षमा रह्यो। त्यसपछि पियोर इनर्जी ६.०९, इस्टर्न हाइड्रोपावर ४.५८, सिटी होटल ३.५८, बुटवल पावर ३.२२ र उन्नति सहकार्य लघुवित्त ३.१३ प्रतिशतले बढे।

त्यसैगरी, नारायणी डेभलपमेन्ट बैंक ६.१४ प्रतिशतले घट्दै सबैभन्दा धेरै गुमाउने कम्पनी बन्यो। युनाइटेड मोदी हाइड्रोपावर ४.१८ र युनियन हाइड्रोपावर २.७२ प्रतिशतले घटे।

सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा युनाइटेड मोदी हाइड्रोपावर, हिमालयन डिस्टिलरी, राधि विद्युत्, बुटवल पावर र माउन्टेन इनर्जी रहेका छन्।