

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले पहिलो जित हात पारेको छ। बुधबार सम्पन्न चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराउँदै सिरिजमा विजयी यात्रा सुरू गरेको हो।
१८१ रनको लक्ष्य पछ्याउने क्रममा होबार्ट १६.१ ओभरमै ११४ रनमा अलआउट भयो। नेपालका नन्दन यादवले घातक बलिङ गर्दै ३ ओभरमा १७ रन मात्र खर्चेर ५ विकेट झारे। त्यस्तै कप्तान रोहित पौडेल, कुशल भुर्तेल, रिजन ढकाल र सन्दीप लामिछानेले समान १–१ विकेट लिए।
होबार्टका लागि ब्राड होपले ३१, चार्ली वाकिमले २८ तथा जेन कर्टेनले अविजित २० रन बनाए।
यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८० रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो। आरिफ शेखले ३३, आसिफ शेखले २९, कुशल भुर्तेलले २७ रन बनाए भने लोकेश बमले ११ बलमा अविजित २५ रनको योगदान दिए। नेपालले अतिरिक्त ३२ रन पनि पाएको थियो।
होबार्टका निभेथन राधाकृष्णन र राफ माकमिलनले समान २–२ विकेट लिँदा मार्कस बिन, गाब्रियल बेल र ब्राड होपले १–१ विकेट हात पारे।
यसअघि लगातार तीन खेलमा पराजित भएको नेपालले पहिलो जितसँगै आत्मबल बढाएको छ। नेपाल पहिलो खेलमा एनटी स्ट्राइक, दोस्रोमा बंगलादेश ए र तेस्रोमा मेलबर्न स्टार्ससँग पराजित भएको थियो।
नेपालले अब भोलि मेलबर्न रेनेगेड्स र शुक्रबार पाकिस्तान शाहीन्ससँग खेल्नेछ।