

काठमाडौं । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा कांग्रेसको भागमा पर्ने पाँच मन्त्रालयका लागि मन्त्री सिफारिस गरेका छन्। मन्त्रीका रूपमा कञ्चनचन्द्र वादे, सुरेश श्रेष्ठ, विनु रायमाझी, उर्मिला नेपाल र प्रभात तामाङको नाम सिफारिस गरिएको हो। उनीहरूको शपथ आज दिउँसो ४ बजे हुने बताइएको छ।
स्रोतका अनुसार सुरेश श्रेष्ठलाई युवा तथा खेलकुद, उर्मिला नेपाललाई सामाजिक विकास, कञ्चनचन्द्र वादेलाई आन्तरिक मामिला तथा कानून, प्रभात तामाङलाई आर्थिक मामिला, विनु रायमाझीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइनेछ। यससँगै विनाविभागीय रहेका शिवराज अधिकारीलाई पर्यटन मन्त्रालय दिने तयारी छ। तर मन्त्रालय हेरफेर हुने सम्भावना पनि रहेको छ।
यसअघि कांग्रेसबाट कृष्णकुमार तामाङ खानेपानी मन्त्री भइसकेका छन्। पूर्वमुख्यमन्त्री बहादुर सिंह लामाले सिफारिस गरेका तीन मन्त्री भने यो सूचीमा परेका छैनन्। एमालेबाट ६ मन्त्री पहिले नै नियुक्त भइसकेका छन्।
साउन २० गते मुख्यमन्त्री बनेका बानियाँले साउन २७ गते विश्वासको मत पाएका थिए।