

काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ मा प्रहरीले गोली प्रहार गरी लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेहरूमा नेपालगञ्ज–५ का २२ वर्षीय अमन साह, २६ वर्षीय भाइजन अन्सारी, भारतको बहराइज रुपैडिया थानाका २० वर्षीय अजयकुमार र २० वर्षीय कार्त्तिककुमार रहेका छन्। लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जको टोलीले शंका लागेर खानतलासी गर्ने क्रममा आरोपीहरूले प्रहरीमाथि इँटा प्रहार गरेपछि गोली प्रहार गरिएको हो। घटनामा एकजना प्रहरी घाइते भएका छन्।
गोली कार्त्तिककुमारको दायाँ खुट्टामा लाग्दा उनी घाइते भएका छन्। उनलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट २६५ ग्राम खैरो हेरोइन बरामद गरेको छ।