खतिवडाको राजीनामा पछि कांग्रेसमा राज्य व्यवस्था समितिको सभापति चयनमा छलफल

खतिवडाको राजीनामा पछि कांग्रेसमा राज्य व्यवस्था समितिको सभापति चयनमा छलफल

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि उक्त पदमा नयाँ व्यक्ति चयन गर्ने विषयमा नेपाली कांग्रेसमा अनौपचारिक छलफल सुरु भएको छ।

खतिवडाले संघीय निजामति विधेयकमा रहेको कुलिङ अफ पिरियड व्यवस्थामा संसदीय समितिले नैतिक जिम्मेवारी लिनुपर्ने ठहर गरेपछि राजीनामा दिएका थिए।

राज्यमन्त्री सरह सेवा सुविधा प्राप्त हुने उक्त पदमा कांग्रेस सांसदबाट नै नयाँ सभापति नियुक्त गर्ने तयारी भइरहेको छ। समितिमा कांग्रेसका ९ सांसद छन्, जसमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, तथा अन्य सदस्य ईश्वरी न्यौपाने, रामहरि खतिवडा, दिलेन्द्र बडू, सरिता प्रसाईं, हृदयराम थानी र अम्बिका बस्नेत रहेका छन्।

हालको छलफलअनुसार दोस्रो तहका चार सांसद—दिलेन्द्र बडू, सरिता प्रसाईं, हृदयराम थानी र अम्बिका बस्नेत—मध्यबाट नयाँ सभापति चयन हुने संभावना रहेको कांग्रेसका पदाधिकारीले जानकारी दिएका छन्। समितिमा शीर्ष तहका नेताहरूको रुचि नहुनु, खतिवडाको राजीनामा र ईश्वरी न्यौपानेले अर्काे समितिमा सभापति हुनुका कारण बाँकी चार सांसदबाट नै नयाँ सभापति छनोट गरिने तयारी भइरहेको छ।