१०० देशमा प्रतिबन्ध लागेको विश्वकै सबैभन्दा विवादित फिल्म ‘सालो’को रहस्यमय कथा

१०० देशमा प्रतिबन्ध लागेको विश्वकै सबैभन्दा विवादित फिल्म ‘सालो’को रहस्यमय कथा

काठमाडौं : सन् १९७५ मा निर्माण भएको इटालियन फिल्म ‘सालो एण्ड द १२० डेज अफ सदोम’ (Salo, or the 120 Days of Sodom) विश्वकै सबैभन्दा विवादित सिनेमामध्ये एक मानिन्छ। यस फिल्ममाथि करिब १०० देशले प्रतिबन्ध लगाएका थिए, जसमा अष्ट्रेलिया, बेलायत, न्युजिल्याण्ड, अमेरिका, भारत, ब्राजिल, र दक्षिण अफ्रिकालगायतका देशसमेत परेका छन्।

निर्देशक पियर पाओलो पासोलिनीले बनाएको यो फिल्म एकदमै डार्क, क्रूर र मनोवैज्ञानिक रूपमा उथलपुथल गराउने खालको छ। फासीवादी शासनकालको पृष्ठभूमिमा आधारित फिल्ममा चार धनी, शक्तिशाली र भ्रष्ट राजनीतिज्ञले केही किशोर–किशोरीहरूलाई अपहरण गरी उनीहरूमाथि शारीरिक, मानसिक र यौन यातना दिने कथा देखाइएको छ।

क्रूरता र नग्नताको सीमा नाघेको फिल्म

फिल्मको ग्राफिक दृश्य, नग्नता, बलात्कार, यातना र मानवीय क्रूरताले दर्शक तथा समीक्षकहरूबीच व्यापक विवाद र बहस सिर्जना गर्‍यो। पेरिस फिल्म फेस्टिभलमा देखाइएको केही दिनमै इटालीमा समेत फिल्म प्रतिबन्धित भयो। यस्तै अश्लीलता र सामाजिक संवेदनशीलताका कारण फिल्म विश्वभरका करीब १०० मुलुकमा प्रतिबन्धित बन्यो।

तर सन् १९७7 मा यो फिल्म अमेरिका रिलिज गरिएको थियो, जहाँ पनि यसले अश्लीलताको मुद्दा खेप्नुपर्‍यो। आलोचकहरू फिल्मप्रति विभाजित देखिए — कोहीले यसलाई सत्ता र राजनीतिक विकृति देखाउने ‘आर्ट फिल्म’ भने, भने कोहीले यसलाई अमानवीय र आपत्तिजनक भन्दै आलोचना गरे।

निर्देशकको रहस्यमय हत्या

फिल्म रिलिज हुनुअघि निर्देशक पासोलिनीको निर्मम हत्या भयो। नोभेम्बर १९७५ मा उनकाे शव सडकमा किचिएको अवस्थामा फेला परेको थियो। पोष्टमार्टम रिपोर्ट अनुसार उनको हड्डीहरू भाँचिएका थिए, गुप्ताङ्गसमेत क्षतविक्षत अवस्थामा थियो। हत्या किन गरियो भन्ने अझै ठ्याक्कै खुलेको छैन। राजनीतिक षड्यन्त्र, आर्थिक शत्रुता वा अपराधी गिरोहको प्रतिशोध – विभिन्न अड्कल भए पनि घटना आजसम्म रहस्यमय नै छ।

समीक्षकहरूका कठोर टिप्पणी

न्युयोर्क टाइम्सका चर्चित समीक्षक भिन्सेन्ट क्यानबीले फिल्मलाई “आत्मालाई चिच्याउने अनुभव” भनेका थिए। चर्चित समीक्षक रोजर एबर्टले पनि यस्तो फिल्म आफूले कहिल्यै नदेखेको भन्दै गहिरो आलोचना गरेका थिए।

सालो एण्ड द १२० डेज अफ सदोम सिनेमाको इतिहासमा एउटा यस्तो फिल्म हो, जसले कलाको सीमाना कति अन्धकारमय हुन सक्छ भनेर दर्शायो। सिनेमा एउटा माध्यम मात्र होइन, कहिले कहिले सन्देश, प्रतिवाद र सत्ताको विरोधको स्वर पनि हुन सक्छ भन्ने उदाहरण बनेको छ यो फिल्म।