केमिकल हालेको आँप चिन्न सकिने घरेलु तरिका

केमिकल हालेको आँप चिन्न सकिने घरेलु तरिका

काठमाडौं । गर्मीयाम सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो, रसिलो र पौष्टिक मानिने आँपलाई “फलको राजा” पनि भनिन्छ। तर बजारमा पाइने सबै आँप प्राकृतिक रूपमा पाकेका हुँदैनन्। कतिपय व्यापारीले आँप चाँडो पकाउन र बिक्री गर्न रासायनिक पदार्थ प्रयोग गर्ने गर्छन्, जसले स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ।

रासायनिक तरिकाले पकाइएका आँपहरू स्वादमा फिक्का र भित्रबाट कच्चा हुन सक्छन्। यस्तो अवस्थामा आँप प्राकृतिक रूपमा पाकेको हो वा केमिकल हालिएको हो भन्ने छुट्याउन केही सरल घरेलु तरिका अपनाउन सकिन्छ।

१. गन्धबाट छुट्याउने तरिका
प्राकृतिक रूपमा पाकेका आँपमा मिठो र फलफुलको सुगन्ध आउँछ, जुन यसको पाकेको संकेत हो। तर, केमिकलले पकाइएको आँपमा अप्राकृतिक र रासायनिक गन्ध आउन सक्छ।

२. स्पर्श (छामेर) छुट्याउने तरिका
केमिकल हालेर पकाइएको आँप बाहिरबाट धेरै नरम हुन्छ, तर भित्र कच्चा हुन सक्छ। यसका छालाहरू चाँडै गल्ने सम्भावना पनि बढी हुन्छ। यता, प्राकृतिक रूपमा पाकेको आँप हल्का बलियो हुन्छ र भित्री भागसम्म समान रूपमा पाकेको हुन्छ।

३. रंगबाट छुट्याउने तरिका
रासायनिक रुपमा पकाइएका आँपहरू बाहिरबाट चम्किला र एकनासे पहेंलो देखिन्छन्। तर भित्र काँचो रहन सक्छ। प्राकृतिक आँपमा पहेँलो र हल्का हरियो रंग मिश्रित हुन्छ, जसले प्राकृतिक रूपमा पाकेको संकेत गर्छ।

स्वस्थ आहारको चयनमा सतर्कता जरुरी हुन्छ। त्यसैले आँप किन्नु अघि यी सामान्य तरिकाहरू प्रयोग गरी केमिकल हालिएको हो वा होइन भनेर छुट्याउनु उचित हुनेछ।