

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले मधेसलाई जात, धर्म, भूगोल वा राजनीतिक स्वार्थका नाममा विभाजित गरी द्वन्द्वको मैदान बनाउन नहुने बताएका छन्। आइतबार जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अबको राजनीति सामाजिक एकता र आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्ने बताए।
सिंहले मधेस र कोशी प्रदेशलाई ‘ब्याटल ग्राउन्ड’ बनाउने प्रयास भइरहेको दाबी गर्दै त्यसबाट मुलुकलाई जोगाउनुपर्ने बताए। ‘हाम्रो अहिलेको बाटो एकताको बाटो हुनुपर्छ, समृद्धिको बाटो हुनुपर्छ,’ उनले भने।
छठपछि मेची-महाकाली पदयात्रा
सिंहले छठ पर्वको पारणका दिन जनकपुरधामस्थित गंगासागरमा अर्घ दिएर जानकी मन्दिरको दर्शन गरेपछि झापाको भद्रपुरबाट मेची–महाकाली पैदलयात्रा सुरु गर्ने घोषणा गरेका छन्। यात्राको मुख्य उद्देश्य जनतासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या, अपेक्षा र सुझाव सुन्नु रहेको उनले बताए।
उनका अनुसार यात्राका क्रममा मञ्च बनाएर भाषण गर्नुभन्दा गाउँ–गाउँ र टोल–टोलमा पुगेर स्थानीयसँग प्रत्यक्ष संवाद गरिनेछ। आफू कम बोल्ने र जनताको कुरा बढी सुन्ने उनको भनाइ छ। युवाको विदेश पलायन, वैदेशिक रोजगारी, किसान तथा मजदुरका समस्या, व्यापार–व्यवसाय, सीमावर्ती क्षेत्रको अवस्था र मधेसको अर्थतन्त्रका विषय यात्रामा प्राथमिकताका साथ उठाइनेछन्।
मधेस विकासका लागि ‘६ स’
सिंहले मधेसको विकासका लागि शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ, शान्ति–सुरक्षा र सरसफाइलाई ‘६ स’का रूपमा प्राथमिकतामा राखेका छन्। उनले सरकारी स्वास्थ्य तथा शैक्षिक संस्थाको विस्तार, सडक र सिँचाइ पूर्वाधार सुधार तथा सरसफाइमा विशेष ध्यान दिनुपर्ने बताएका छन्।
मधेसको वर्तमान अवस्थाका लागि काठमाडौंलाई मात्रै दोष दिन नहुने भन्दै उनले मधेसका राजनीतिक नेतृत्व र स्थानीय तहले पनि विगतका कमजोरीको समीक्षा गर्नुपर्ने बताए। सिंहले सामाजिक तथा साम्प्रदायिक तनाव बढाउने गतिविधिप्रति सचेत रहनुपर्ने बताउँदै समाज जोड्ने र राष्ट्रिय एकता मजबुत बनाउने राजनीति आवश्यक रहेकोमा जोड दिएका छन्।