आज तीन संसदीय समितिको बैठक बस्दै, बाढीपछिको पुनर्स्थापनाबारे छलफल

आज तीन संसदीय समितिको बैठक बस्दै, बाढीपछिको पुनर्स्थापनाबारे छलफल

काठमाडौं । आज संघीय संसद्अन्तर्गतका तीनवटा संसदीय समितिको बैठक बस्दैछ। संघीय संसद् सचिवालयका अनुसार सोमबार कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिको बैठक बस्ने कार्यतालिका रहेको छ।

बिहान १० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा विपद् व्यवस्थापन, प्रभावित नागरिकको मानव अधिकार संरक्षण तथा जलवायु न्यायका विषयमा छलफल हुनेछ।

उक्त छलफलका लागि समितिले गृह मन्त्रालय, कृषि, वन तथा वातावरण मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवका साथै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुखलाई आमन्त्रण गरेको छ।

त्यस्तै, बिहान ९ बजे बस्ने कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)अन्तर्गतका क्षेत्रीय कार्यालय तथा अनुसन्धान केन्द्रको स्थलगत अनुगमनबाट पहिचान भएका समस्या तथा चुनौती, प्राप्त निष्कर्ष र कृषि अनुसन्धान प्रणाली सुदृढीकरणका उपायबारे छलफल हुनेछ।

बैठकमा कृषि मन्त्री, नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक तथा परिषद्अन्तर्गतका निर्देशनालय, कार्यक्रम र केन्द्रका प्रमुख एवं प्रतिनिधिलाई आमन्त्रण गरिएको छ।

यसैगरी, बिहान १० बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा बाढी तथा पहिरोबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा जनजीवन तथा पूर्वाधारमा भएको क्षति, पुनर्स्थापना र पुनर्निर्माणका विषयमा छलफल हुनेछ। बैठकमा पुनर्निर्माणका लागि आवश्यक लगानी व्यवस्थापन तथा प्रभावित क्षेत्रको पूर्वाधार पुनःस्थापनासम्बन्धी विषयसमेत छलफलको कार्यसूचीमा रहेको संसद् सचिवालयले जनाएको छ।