एमाले कार्यदलमा ओलीको राजीनामा नमाग्ने सहमति, एकीकृत प्रतिवेदन सचिवालयमा पेस गरिने

एमाले कार्यदलमा ओलीको राजीनामा नमाग्ने सहमति, एकीकृत प्रतिवेदन सचिवालयमा पेस गरिने

काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा नमाग्ने र उनलाई हटाउने विषय प्रतिवेदनमा नराख्ने सहमति गरेको कार्यदलका सदस्य एवं सचिव महेश बस्नेतले बताएका छन्।

कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले विभिन्न प्रस्ताव र सदस्यहरूले दिएका सुझाव समेटेर एकीकृत प्रतिवेदन तयार भएको र त्यसैलाई थप परिमार्जन गरी सचिवालय तथा केन्द्रीय कमिटीमा पेस गरिने जानकारी दिए।

उनका अनुसार प्रतिवेदनमा अध्यक्ष ओलीको राजीनामा माग्ने, हटाउने वा आलोचना गर्ने विषय समावेश नगर्ने सहमति भएको छ।

‘अध्यक्षको राजीनामा माग्ने, अध्यक्षलाई हटाउने वा अध्यक्षको आलोचना गर्ने कुरा कहीँ कतै नराख्ने सहमति भएको छ,’ बस्नेतले बताए।

बस्नेतका अनुसार एमालेको राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक पार्टीको एकता र संगठनात्मक सुदृढीकरणमा केन्द्रित हुने गरी बोलाउने सहमति भएको छ। साथै वर्तमान सरकारविरुद्ध पार्टीगत रूपमा आन्दोलन अघि बढाउने विषयमा पनि बैठकमा छलफल भएको उनले बताए।

एमाले सचिव राजन भट्टराईले सोमबारदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकमा एउटै प्रतिवेदन पेस हुने बताएका छन्। हाल आएका प्रतिवेदन तथा सुझावलाई आवश्यक परिमार्जन गरिने उनको भनाइ छ।

त्यस्तै, सचिव छविलाल विश्वकर्माले प्रतिवेदनलाई अन्तिम रूप दिन कार्यदलको थप बैठक बस्ने जानकारी दिए। उनका अनुसार २९ पृष्ठको प्रतिवेदन परिमार्जन गरी पारित गर्ने र विभिन्न तहबाट आएका सुझावलाई अनुसूचीमा समेट्ने तयारी छ।

एमालेको पुनर्गठनसम्बन्धी बहस यसअघि फरक–फरक प्रतिवेदनका कारण विवादमा परेको थियो। महासचिव शंकर पोखरेलको प्रतिवेदनले नेतृत्व परिवर्तनको विषय उठाएपछि त्यसको प्रतिउत्तरमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले छुट्टै प्रतिवेदन तयार गरेका थिए। त्यसपछि विभिन्न प्रस्ताव समेटेर साझा प्रतिवेदन तयार गर्ने प्रयास भएको थियो। एमाले केन्द्रीय कमिटी बैठक असोज ५ देखि ७ गतेसम्म बस्ने तय भएको छ।