हत स्ट्रोक (लु) बाट जोगिनुहोस्: अत्यधिक गर्मीमा अपनाउनुहोस् यी घरेलु उपायहरू

हत स्ट्रोक (लु) बाट जोगिनुहोस्: अत्यधिक गर्मीमा अपनाउनुहोस् यी घरेलु उपायहरू

काठमाडौं : अत्यधिक गर्मीका कारण विशेषगरी दिउँसो अफिस वा बजारबाट फर्किंदा टाउको दुख्ने, चक्कर लाग्ने, थकान र अन्योलता हुने समस्या सामान्यजस्तै देखिए पनि यो लु (हत स्ट्रोक) को संकेत हुन सक्छ। यस्ता लक्षणलाई बेवास्ता गर्दा स्वास्थ्य अवस्था गम्भीर बन्छ र तुरुन्तै चिकित्सकको सहायताको आवश्यकता पर्न सक्छ।

नेपालका तराई–मधेसका विभिन्न भागमा तापमान ४५ डिग्री सेल्सियसभन्दा माथि पुग्दा लुको जोखिम निकै बढ्ने गर्छ। हत स्ट्रोक समयमै उपचार नपाए ज्यानसमेत जाने खतरा हुन्छ। त्यसैले लु परेपछि के गर्ने र त्यसबाट कसरी बच्ने भन्नेबारे जानकारी राख्न आवश्यक छ।

लुका लक्षणहरू

-अत्यधिक ज्वरो

-चक्कर लाग्नु वा बेहोस हुनु

-गम्भीर टाउको दुखाइ

-छाला सुख्खा र रातो देखिनु

-मांसपेशी कमजोर वा ऐंठन आउनु

-सास फेर्न गाह्रो हुनु

-वाकवाकी वा बान्ता हुनु

लु परेपछि तुरुन्तै के गर्ने?

-टाइट वा सिंथेटिक लुगा फुकालेर सुती र हल्का कपडा लगाउनुहोस्

-शरीरमा चिसोपन दिन पंखा चलाउनुहोस् वा चिसो हावा दिनुहोस्

-टाउको, घाँटी, छाती, काँधमा आइस प्याक राख्नुहोस्

-बिस्तारै चिसो पानीले नुहाउनुहोस्

-व्यक्ति बेहोस भएमा तुरुन्तै डाक्टर बोलाउनुहोस्

लुबाट बच्ने सजिला उपायहरू

-अपराह्न १२ बजेपछि ३ बजेसम्म अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कनुहोस्

-घरबाहिर निस्कँदा टाउको छोप्न टोपी वा छाता प्रयोग गर्नुहोस्

-खुल्ला, हल्का र सुतिको कपडा लगाउनुहोस्

-प्रशस्त पानी, कागती पानी, बटरमिल्क, नरिवल पानीजस्ता तरल पदार्थ पिउनुहोस्

-अनुहार र शरीरमा बेलाबेला चिसो पानी छ्याप्नुहोस्

विशेषगरी बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला र दीर्घरोगी व्यक्तिहरू लुको उच्च जोखिममा हुन्छन्। त्यसैले उनीहरूको हेरचाहमा विशेष सावधानी अपनाउनु आवश्यक छ। गर्मीलाई सामान्य ठान्दा गम्भीर नतिजा आउन सक्छ, तर सावधानी र सजगताले हत स्ट्रोकजस्तो खतराबाट बच्न सकिन्छ। समयमै सचेत बन्ने हो भने तपाईं र तपाईंका परिवारका सदस्यहरूको जीवन सुरक्षित राख्न सकिन्छ।