गर्मीमा ताजगी दिन घरमै बनाउनुहोस् यी ३ प्रकारका स्वादिला मोजितो

गर्मीमा ताजगी दिन घरमै बनाउनुहोस् यी ३ प्रकारका स्वादिला मोजितो

काठमाडौं : चर्को घाम र बढ्दो तापक्रमले धेरैलाई थकित बनाएको बेला शरीरलाई चिसो, ताजा र हाइड्रेटेड राख्नका लागि सजिलो उपाय हो – मोजितो। कागती, पुदिना र विभिन्न फलफूलको मिश्रणबाट बन्ने मोजितो स्वादिलो मात्र होइन, स्वास्थ्यका लागि पनि लाभदायक हुन्छ।

गर्मीको बेला बाहिर खाना खाँदा धेरैजसो मानिसलाई खानापछि मोजितो पिउन मन लाग्छ – यो पाचनमा फाइदाजनक र उर्जादायी पेयको रूपमा पनि लोकप्रिय छ। यस्ता मोजितोहरू घरमै बनाउने प्रक्रिया पनि निकै सजिलो छ।

यहाँ प्रस्तुत छ, घरमै सजिलै बनाउन सकिने ३ किसिमका मोजितोको रेसिपी:

१. कालो अंगूर मोजितो
यस मोजितो बनाउनका लागि कालो अंगूर, पुदिनाका पात, कागतीको रस, कालो नुन, चाट मसला, जीराको धूलो र थोरै पानीलाई एकसाथ मिक्स गर्नुहोस्। अब एक गिलासमा आइस क्यूब, पाउडर चिनी र क्लब सोडा हालेर यो तयार मिश्रण मिलाउनुहोस्। अन्त्यमा केही कालो अंगूर र पुदिनाका पात राखेर चिसो गरि पस्किनुहोस्।

२. अनार मोजितो
एक गिलासमा थोरै अनारको दाना, आधा चम्चा कागतीको रस, केही पुदिनाका पात र चिनी हाल्नुहोस्। यी सबैलाई राम्ररी मथेर आइस क्यूब र क्लब सोडा थप्नुहोस्। चाहनुहुन्छ भने कागतीको स्लाइसले सजाउन सक्नुहुन्छ। स्वादिलो अनार मोजितो तयार छ।

३. स्याउ मोजितो
स्याउलाई साना टुक्रामा काटेर चिनी र पानीसँग पिसेर रस तयार गर्नुहोस्। अब यो रस गिलासमा हाल्नुहोस्। त्यसमा आइस क्यूब, पुदिनाका पात र क्लब सोडा थपेर राम्ररी मिसाउनुहोस्। चाहनुसार थप सामग्री मिलाएर आफ्नो स्वाद अनुसार परिमार्जन गर्न सकिन्छ।

गर्मी हटाउन अब बजारको भर नपरी घरमै प्राकृतिक र स्वादिला पेय तयार पार्न सकिन्छ। यी मोजितो रेसिपीले तपाईंको गर्मी रमाइलो बनाउनेछ।