

काठमाडौं: राम्रो स्वास्थ्यका लागि गहिरो र पर्याप्त निन्द्रा अत्यावश्यक छ। तर आजकलको दवाबपूर्ण जीवनशैलीका कारण धेरै मानिस राति ढिलो सुत्छन् वा सुत्न गाह्रो महसुस गर्छन्। समयमै ओच्छ्यानमा गए पनि घन्टौंसम्म ओल्टाइपल्टाइ गरिरहने समस्या आम हो। यसले भोलिपल्टको दिन अल्छी र थकाइले भरिएको हुन्छ, र दीर्घकालीन रूपमा मानसिक तथा शारीरिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ।
यदि तपाईं पनि राति राम्ररी निदाउन सक्नुहुन्न भने सुत्नुअघि केही प्राकृतिक खानेकुराको सेवनले मद्दत गर्न सक्छ। चिकित्सकहरूका अनुसार यस्ता केही खानेकुरा छन्, जसले तनाव कम गर्न, शरीरलाई आराम दिन र निन्द्रालाई सहज बनाउन सहयोग गर्छन्।
सुत्नुअघि अश्वगन्धा सेवन गर्नु निन्द्राका लागि लाभदायक मानिन्छ। यसले दिनभरको तनाव कम गर्छ र शरीरलाई सन्तुलनमा ल्याउँछ। साथै, यसले मानसिक शान्ति र ऊर्जा वृद्धि गर्छ, जसले निद्रामा सुधार ल्याउन सक्छ।
बदाममा प्रशस्त म्याग्नेसियम पाइन्छ, जसले मांसपेशीलाई आराम दिन्छ र मस्तिष्कलाई शान्त पार्छ। सुत्नुअघि केही बदाम खाँदा पाचन प्रक्रिया पनि सहज हुन्छ, जसले राम्रो निद्रामा सहयोग पुर्याउँछ।
डार्क चकलेट सिमित मात्रामा सेवन गर्नु निन्द्राका लागि फाइदाजनक हुन सक्छ। यसमा पाइने म्याग्नेसियमले तनाव घटाउँछ र मूड सुधार गर्छ, जसले सहज निद्रामा सहयोग पुर्याउँछ। तर, चकलेटमा क्याफिन पनि हुन सक्ने भएकाले अत्यधिक सेवन नगर्नु उपयुक्त हुन्छ।
केरा प्राकृतिक रूपमा ‘सेरोटोनिन’ र ‘मेलाटोनिन’ उत्पादनमा मद्दत गर्छ, जुन निद्राका लागि महत्त्वपूर्ण हार्मोन हुन्। सुत्नुभन्दा झण्डै २०–३० मिनेटअघि पाकेको केरा खाँदा निन्द्रा गहिरो र सन्तुलित हुन सक्छ।
यदि तपाईँलाई पनि राती निन्द्रा आउन गाह्रो भइरहेको छ भने यी प्राकृतिक उपायहरूलाई अपनाउनुहोस्। तर, दीर्घकालीन समस्या भएमा चिकित्सकको सल्लाह लिनु जरुरी छ।