परम्परागत शैलीमा त्रिविको ४५औँ दीक्षान्त समारोह

परम्परागत शैलीमा त्रिविको ४५औँ दीक्षान्त समारोह

काठमाडौँ, मङ्सिर ३० गते । त्रिभुवन विश्वविद्यालयको ४५औँ दीक्षान्त समारोह पनि परम्परागत रूपमा नै आयोजना हुने भएको छ । विश्वविद्यालय पदाधिकारीका हातबाटै प्रमाणपत्र लिने पश्चिमा परम्परा भए पनि नेपालमा त्यस्तो अभ्यास थालिएको छैन ।

त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले दीक्षान्त समारोहमा सर्वाेत्कृष्ट विद्यार्थीलाई प्रमुख अतिथि तथा पदाधिकारीले हातमै प्रमाणपत्र दिने र बाँकीलाई काउन्टरबाट वितरण गरिने बताउँदै भन्नुभयो, “विद्यार्थी धेरै छन् । सबैलाई पालैपालो प्रमाणपत्र दिन सम्भव हुँदैन ।” आउँदो पुस ३ गते त्रिविको दीक्षान्त समारोह हुँदैछ ।

बेलायतको लन्डन मेट्रोपोलिटन विश्वविद्यालयका उपकुलपति प्राध्यापक लिन डप्स शनिबार दिनभरि नै काठमाडौँमा व्यस्त रहनुभयो । सो विश्वविद्यालयबाट सम्बन्धन लिई काठमाडौँमा सञ्चालित स्लिङ्टन कलेजले आयोजना गरेको दीक्षान्त समारोहमा उपकुलपति लिनले दीक्षित ४२७ जना विद्यार्थीलाई क्रमशः प्रमाणपत्र प्रदान गर्नुभयो ।

स्लिङ्टन कलेजका अध्यक्ष सुलभ बुढाथोकीले प्रायः विश्वभरि नै विश्वविद्यालयका पदाधिकारीले पालैपालो विद्यार्थीको हातमा प्रमाणपत्र दिने चलन रहेको सुनाउँदै भन्नुभयो, “यसले विद्यार्थीलाई विश्वविद्यालय र पदाधिकारीसँग नजिक बनाउनुका साथै सम्बन्ध पनि बढाउँछ ।”
अघिल्लो साता त्रिवि सभामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले एकैपटक दीक्षान्त समारोहको आयोजना गर्ने विधि ठीक होइन भन्दै त्रिविले यसलाई औपचारिक कर्मकाण्डका रूपमा र विद्यार्थीले पनि सामाजिक सञ्जालमा गाउन लगाएको तस्बिर राख्ने माध्यम बनाउन नहुने बताउनुभएको थियो ।

त्रिविले विद्यार्थीलाई भेला गर्ने र भीडलाई ‘प्रतीज्ञा गर्छु’ भन्न लगाएर दीक्षान्त समारोह सक्ने गरेको छ । कहिले कीर्तिपुर र कहिले दशरथ रङ्गशालामा आयोजना गरिएको दीक्षान्त समारोह गत वर्षजस्तै यसपटक पनि पुल्चोक इन्जिनियरिङ क्याम्पस परिसरको खेलमैदानमा आयोजना गरिँदैछ ।पनिकाका अनुसार यसपटक दीक्षान्त समारोहमा सहभागी हुन ७० हजार ७७ विद्यार्थी योग्य भए पनि १० हजार १८३ विद्यार्थीले मात्र फाराम भरेका छन् । गत वर्ष पनि ७४ हजार २८६ विद्यार्थी योग्य भए पनि नौ हजार ५२० जनाले फाराम भरेका थिए । दीक्षान्त समारोहको तरिकाप्रति इच्छा नजनाएर अधिकांश विद्यार्थीले फाराम भर्ने गरेका छैनन् । अनलाइनबाट फाराम भर्ने व्यवस्था गरेकाले गत वर्षबाट सहभागी हुनेहरू बढेको परीक्षा नियन्त्रक जोशीले दाबी गर्नुभयो । यसपटक सात हजार अभिभावक उपस्थित रहने अनुमान गरिएको छ ।

त्रिविको पहिलो दीक्षान्त समारोहमा सहभागी हुनुभएका ८३ वर्षीय नरोत्तम शर्माले त्यसबेला न्यून विद्यार्थी भए पनि सर्वाेत्कृष्टलाई मात्र प्रमुख अतिथिको हातबाट प्रमाणपत्र प्रदान गरिएको स्मरण गर्नुभयो । “कीर्तिपुरको त्रिवि पुस्तकालय रहेको भवनको दक्षिणतर्फको चौरमा परालले सिँगारिएको मञ्च बनाइएको थियो”, उहाँले भन्नुभयो, “प्रमाणपत्रमा तत्कालीन चान्सलर कान्ति राज्यलक्ष्मी र प्रोचान्सलर ईश्वरी राज्यलक्ष्मी तथा रजिष्टार परासरनारायण सुवालको हस्ताक्षर गरिएको थियो । हामीलाई अलग्गै प्रमाणपत्र बाँडिएको थियो ।”

परीक्षा नियन्त्रक जोशीले आगामी वर्षबाट अध्ययन संस्थान र सङ्कायहरूको फरकफरक दिन दीक्षान्त समारोहको आयोजना गर्ने तथा संस्थान र सङ्कायका पदाधिकारीले आ–आफ्ना विद्यार्थीलाई प्रमाणपत्र दिने योजनाका बारेमा सोचिएको बताउँदै थप्नुभयो, “मेगा हल बनाउने कुरा उठेको छ । त्यही हलभित्र विद्यार्थीका हातमा पदाधिकारीले प्रमाणपत्र दिन सके राम्रो हुने थियो ।” त्रिवि सभाले तीन हजार विद्यार्थी अटाउने मेगा हल निर्माण गर्ने योजना स्वीकृत गरेको छ ।

यसपटकको दीक्षान्त समारोहका लागि त्रिविले १८ हजार वटा कुर्सी भाडामा लिँदैछ । तीन दिनका लागि प्रतिकुर्सी ३६ रुपियाँ भाडामा लिइनेछ । दीक्षान्त समारोहमा सहभागी हुन स्नातकका लागि तीन हजार छ सय रुपियाँ, स्नातकोत्तरका लागि चार हजार दुई सय रुपियाँ र विद्यावारिधिका लागि चार हजार सात सय रुपियाँ बुझाउनुपर्ने हुन्छ । त्यसमध्ये डेढ हजार रुपियाँ फिर्ता दिइने नियम छ । यसपटकको दीक्षान्त समारोहमा विशेष अतिथिका लागि बङ्गलादेशको ढाका विश्वविद्यालयका उपकुलपति प्राडा मोहम्मद अतिरुज्मानलाई आमन्त्रण गरिएको छ ।

नेपालमा २०१४ साल चैत २२ गते पहिलो दीक्षान्त समारोहको आयोजना गरिएको पाइन्छ । चेत भवन (हालको होटेल ¥याडिसन)मा रहेको कलेज अफ एजुकेसनले सञ्चालन गरेको एक वर्षे बीएड कार्यक्रमका उत्तीर्ण एक्ला विद्यार्थी राजेन्द्रकुमार रङ्गोन मात्र सो दीक्षान्त समारोहमा सहभागी हुनुभएको थियो । तत्कालीन परराष्ट्र सचिव नरेन्द्रमणि आदी प्रमुख अतिथि हुनुहुन्थ्यो । सचिव नरेन्द्रमणिले ‘द फस्र्ट हार्वेस्ट्री’ शीर्षकमा भाषण गर्नुभएको थियो भने तत्कालीन राजा महेन्द्रले पठाउनुभएको शुभकामना सन्देश पनि पढेर सुनाइएको थियो ।आजको गोरखापत्रमा खबर छ ।