

मंसिर ८ गते बिहान करिब १२ः१५ बजेदेखि चलेको हावाहुरीले आयोजनाको विस्फोटक पदार्थ भण्डारणस्थल भालेबासमा रहेको नेपाली सेनाको सुरक्षा बेसक्याम्पमा करोडौँ रुपैयाँ बराबरको क्षति पुर्याएको आयोजनाका सामाजिक विकास, प्रशासन तथा जनसम्पर्क विभागका वरिष्ठ प्रबन्धक कृष्णदास श्रेष्ठले जानकारी दिए।
नेपाली सेनाको इन्द्रबक्स गण, जोमसोमबाट खटिएको टोलीका लागि निर्माण गरिएका अधिकृत तथा जवान आवास, भान्सा, मेस, मनोरञ्जन हल, बाथरुम, शौचालय र सेन्ट्री पोस्टमा क्षति पुगेको छ। हावाहुरीले भवनमा जडान गरिएका यन्त्र तथा उपकरण, भुइँमा बिछ्याइएका सामग्री, फर्निचर र अन्य सामानमा क्षति पुर्याउनुका साथै कतिपय सामान उडाएर अन्यत्र पुर्याएको छ।
त्यस्तै, आयोजनामा आबद्ध निर्माण कम्पनी एन्जेलिक इन्टरनेसनल लिमिटेडको गोदाम र कर्मचारी आवास भवनका भित्ता तथा छाना उडाएको छ। यसले आयोजनाको निर्माण कार्य प्रभावित हुने देखिएको वरिष्ठ प्रबन्धक श्रेष्ठले बताए। उनका अनुसार विस्फोटक पदार्थ प्रयोग गरेर गरिने सुरुङ उत्खननलगायतका काममा असर पर्नेछ।
सुरक्षा बेसक्याम्पलाई पुरानै अवस्थामा फर्काउन समय लाग्ने भएकाले आयोजनाको दैनिक निर्माण कार्यसमेत प्रभावित हुने उनको भनाइ छ। हावाहुरीले भालेबासस्थित धवलागिरि आधारभूत विद्यालयको कक्षाकोठा भवनको छाना उडाएको छ। नारच्याङका स्थानीय महलबहादुर गर्बुजाको दुईतले ढुंगामाटोले बनेको घरको छाना पनि उडाएको अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीले जानकारी दिए। नारच्याङ र आसपासका बस्तीका अन्य घरगोठमा समेत क्षति पुगेको छ। हावाहुरीले सुन्तलाका दाना झारेपछि किसानसमेत चिन्तित भएका छन्।
क्षतिको विवरण संकलन भइरहेको वडाध्यक्ष फगामीले बताए। अन्नपूर्ण आधार शिविरको पञ्चकुण्ड ताल परिसर र भुसकेटमा पर्यटकको बसोबासका लागि राखिएका १२ वटा टेन्ट हावाहुरीले उडाएको मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङले बताए। टेन्ट उडेपछि पदयात्रामा रहेका पर्यटकलाई रात बिताउन समस्या भएको उनले जानकारी दिए।
हावाहुरीपछि नेपाली सेनाको इन्द्रबक्स गण, जोमसोमका सेनानी मनिष गुरुङ, उपसेनानी नारायण पण्डित, आयोजनाका निर्देशक रमण सिंह, कर्मचारी, इलाका प्रहरी कार्यालय दानाका प्रहरी, स्थानीयवासी र सञ्चारकर्मीसहितको टोलीले घटनास्थलको निरीक्षण गरेको थियो। वडाध्यक्ष फगामीको रोहवरमा इलाका प्रहरी कार्यालय दानाले क्षतिको विवरणसहित प्रहरी मुचुल्का तयार गरेको छ।
जल तथा मौसम विज्ञान विभागको पोखरास्थित स्वचालित मौसम मापन केन्द्रका मौसमविद् सुमना रेग्मीका अनुसार उत्तरी म्याग्दी र मुस्ताङ क्षेत्रमा सोमबार रातिदेखि मंगलबार दिउँसोसम्म प्रतिसेकेन्ड अधिकतम ४.१ मिटरको गतिमा हावा मापन गरिएको थियो। यसैबीच, ‘रन अफ द रिभर’ प्रकृतिको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको मुस्ताङसँगको सिमानामा निर्माणाधीन बाँधमा गत असोज दोस्रो साताको वर्षापछि आएको बाढीपहिरोले क्षति पुर्याएको थियो।
गत जेठमा भालेबासको अडिट नम्बर १ र असोज पहिलो साता घरापको अडिट नम्बर ४ बाट सुरुङ खन्न सुरु गरिएको आयोजनाको निर्माण कार्य प्राकृतिक विपद्का कारण प्रभावित हुँदै आएको छ। करिब ४० अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ग्लोबल आइएमई बैंकको नेतृत्वमा लक्ष्मी सनराइज, हिमालयन र प्रभु बैंकले लगानी गर्नेछन्।