सर्वोच्चले यसपटक पनि हाम्रै पक्षमा फैसला गर्ने विश्वास छ: देउवा

सर्वोच्चले यसपटक पनि हाम्रै पक्षमा फैसला गर्ने विश्वास छ: देउवा

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतले आफ्नो पक्षमा फैसला गर्ने विश्वास व्यक्त गरेका छन् । शुक्रबार देउवा पक्षको बागलुङ जिल्ला अधिवेशन उद्घाटन गर्न पुगेका उनले न्यायाधीशहरू नबिकेमा सर्वोच्चले आफूहरूको पक्षमा निर्णय गर्ने बताए ।

आफूले पञ्चायतकाल र राजा ज्ञानेन्द्रको शासनकालमा समेत अदालतबाट न्याय पाएको स्मरण गर्दै देउवाले यसपटक पनि न्याय पाउने विश्वास व्यक्त गरे । ‘हिजो मलाई पञ्चायतकालमा नियन्त्रणमा राखेको थियो । अदालतको फैसलाले छाडिदियो,’ देउवाले भने, ‘पूर्वराजा ज्ञानेन्द्रका पालामा पनि शाही आयोगले मलाई थुनेको थियो । सर्वोच्चले राजाको अगाडि छाड्ने के हिम्मत गर्ला र भन्ने लागेको थियो, त्यो बेला पनि छाडेको थियो।’

उनले यसपटक पनि सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता आफ्नो पक्षलाई दिने विश्वास व्यक्त गरे । ‘यस पटक पनि विश्वास छ, न्यायाधीश कतै नबिकेमा सर्वोच्चले हाम्रै पक्षमा निर्णय गरिदिनेछ,’ उनले भने ।

गत वर्ष कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा बनेको केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले आधिकारिकता दिएको थियो । आयोगको निर्णयविरुद्ध देउवा सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले पनि निर्वाचन आयोगको निर्णयलाई मान्यता दिएको थियो ।

त्यसपछि देउवाले सर्वोच्चको फैसला पुनरावलोकनका लागि निवेदन दिएका थिए । उक्त निवेदनमा सर्वोच्चले निस्सा प्रदान गरेपछि मुद्दा पुनः सुनुवाइको प्रक्रियामा गएको छ । यही मुद्दालाई लिएर देउवाले आफ्नो पक्षमा फैसला हुने विश्वास व्यक्त गरेका हुन् ।